काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा देखिएको अवरोध अन्त्यका लागि आवश्यक परे परराष्ट्रमन्त्रीमार्फत संसद्मै स्पष्ट धारणा राख्न सकिने बताएका छन्।
निर्वाचनपछि पहिलोपटक सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा लामिछानेले संसद्को गतिरोध अन्त्य गरी नियमित कामकारबाही अघि बढाउन सबै दलसँग आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीहरूको माग छ– प्रधानमन्त्रीले उक्त भनाइ पुष्टि गर्नुपर्ने, अन्यथा अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्छ।
बैठकमा सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आवश्यक विषयमा स्पष्ट धारणा दिन सक्ने र आवश्यकता परे परराष्ट्रमन्त्रीले संसद्मै स्पष्टीकरण दिन सक्ने प्रस्ताव राखिएको जनाइएको छ। यद्यपि विपक्षी दलहरूले थप आन्तरिक छलफलपछि मात्र धारणा सार्वजनिक गर्ने बताएका छन्।