लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री थपिए

२३ घण्टा अगाडि
लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री थपिए

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका चार र जनता समाजवादी पार्टीका एक सांसदलाई मन्त्रिपरिषद्मा समेटेका छन्।

नवनियुक्त मन्त्रीमध्ये तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। डिल्लीराज भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हाल्नेछन् भने रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री बनेका छन्।

यस्तै रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारले प्रशासनिक र विकाससम्बन्धी कामलाई थप गति दिने अपेक्षा गरिएको छ।