काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषय प्रतिनिधिसभामा चर्को रूपमा उठेको छ। विपक्षी सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र पछि सार्वजनिक गरिएको प्रतिमा भिन्नता देखिएको दाबी गरिन्। उनले केही पृष्ठ हटाइएको तथा करका दरमा फेरबदल गरिएको आरोप लगाउँदै यसबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताइन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दरमा गरिएको फेरबदललाई ‘गम्भीर अपराध’को संज्ञा दिँदै अर्थ मन्त्रालयभित्रको छानबिनले मात्र नपुग्ने बताए। उनले स्वतन्त्र संसदीय छानबिन समिति गठन गर्न माग गरे।
नेकपाका सांसद गोपाल शर्माले पनि संसद्मा छलफल भइरहेको विधेयकमा सरकारले मनपरी संशोधन गर्न नसक्ने भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरे। विपक्षी सांसदहरूले संसद्को अधिकारमाथि हस्तक्षेप भएको भन्दै यस विषयलाई गम्भीर रूपमा लिन सरकारलाई चेतावनी दिएका छन्।