मन्त्रिपरिषद्का चार निर्णय : जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति

एक घण्टा अगाडि
मन्त्रिपरिषद्का चार निर्णय : जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ऊर्जा, प्रशासन र सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा निर्णय भएको जानकारी दिए।

बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। स्वीकृति पाउने आयोजनामा तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजना रहेका छन्। सरकारले ऊर्जा उत्पादन वृद्धि र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ती आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति दिएको जनाएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली–२०८१ लाई पनि स्वीकृत गरेको छ। नियमावली संशोधनमार्फत निजामती प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बैठकले लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णयसमेत गरेको छ। रेडक्रसको नेतृत्व र व्यवस्थापनसम्बन्धी विवाद समाधानका लागि सरकारले तदर्थ समिति गठन गरेको हो।

यस्तै, पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङको विषयमा गठित अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले ग्रहण गरेको छ। प्रतिवेदन कार्यान्वयनबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले हाल प्रतिवेदन अध्ययनका लागि ग्रहण गरिएको र आवश्यक निर्णय पछि गरिने बताए।

यसैबीच, उनले काठमाडौंमा मेट्रो रेल तथा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै कटौती नहुने स्पष्ट पारे।