उपचारकै कारण हङकङमा बसाइ लम्बियो, देउवा दम्पती तत्काल नफर्किने

२ घण्टा अगाडि
उपचारकै कारण हङकङमा बसाइ लम्बियो, देउवा दम्पती तत्काल नफर्किने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा तत्काल नेपाल नफर्किने भएका छन्। चिकित्सकको सल्लाहअनुसार उनीहरूको हङकङ बसाइ केही समय लम्बिएको पारिवारिक स्रोतले जनाएको छ।

देउवा दम्पती उपचारका लागि फागुनमा नेपालबाट सिङ्गापुर गएका थिए। त्यसपछि थप उपचारका लागि हङकङ पुगेका उनीहरू जुन ५ मा नेपाल फर्किने तयारीमा थिए। तर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकले केही समय थप विश्राम गर्न सुझाव दिएका कारण स्वदेश फर्किने योजना स्थगित भएको हो।

उनीहरू विदेशमै रहेका बेला सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो। तर विशेष अदालतको अधिकारक्षेत्रको विषय उठाउँदै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

यसबीच कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि देउवालाई भेट्न हङकङ पुगेका छन्। पार्टीभित्रको विकसित राजनीतिक अवस्था र कांग्रेसको आगामी रणनीतिबारे देउवाले नेताहरूसँग निरन्तर संवाद गरिरहेको स्रोतले जनाएको छ।