काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई मेक्सिको प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन जाने तयारीमा रहेका उनीहरूलाई अध्यागमन विभागले विदेश जान अनुमति नदिएको हो। अध्यागमन विभागका अनुसार दुवै जनाको राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई उडान अनुमति नदिइएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले नेम्बाङ र राईसहित एन्फाका केही पदाधिकारीको राहदानी निगरानी सूचीमा राखेको थियो। एन्फामा आर्थिक अनियमिततासम्बन्धी उजुरीपछि गठित छानबिन समितिको सिफारिसका आधारमा उनीहरूको विदेश यात्रा रोकिएको हो।
यसअघि पनि फिफाको एक कार्यक्रममा सहभागी हुन क्यानडा जान लाग्दा एन्फा नेतृत्व रोकिएको थियो। यद्यपि छानबिन समितिले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म राहदानी फुकुवा गरिएको छैन।
खेलकुद परिषद् र एन्फाबीच पछिल्लो समय विभिन्न विषयमा विवाद रहँदै आएको छ। यही विवादको प्रभाव अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने एन्फा नेतृत्वमाथि समेत परेको देखिएको छ।