‘आवश्यक परे प्रधानमन्त्री सदनमा आउनुहुन्छ’ : सरकारका प्रवक्ता पोखरेल

एक घण्टा अगाडि
‘आवश्यक परे प्रधानमन्त्री सदनमा आउनुहुन्छ’ : सरकारका प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परे संसद्मा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्री सदनबाट भाग्न खोजेको भन्ने आरोप सत्य नभएको दाबी गरे।

उनका अनुसार सांसदहरूको प्रश्नको जवाफ दिन आवश्यक ठानेर प्रधानमन्त्री शाह यसअघि पनि संसद्मा उपस्थित भइसकेका छन् र आवश्यकता अनुसार फेरि पनि उपस्थित हुनेछन्।

‘प्रधानमन्त्री सदनमा नआउने भन्ने होइन। आवश्यकता महसुस भए उहाँ आउनुहुन्छ र आफ्नो धारणा स्पष्ट पार्नुहुन्छ,’ पोखरेलले भने।

प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीहरूको माग प्रधानमन्त्रीले उक्त अभिव्यक्ति सच्याउनुपर्ने र संसद्मा माफी माग्नुपर्ने रहेको छ।

यही विषयलाई लिएर प्रतिनिधिसभाको कामकारबाही प्रभावित भइरहेका बेला सरकार र विपक्षीबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ।