१० बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै रास्वपा कार्यालयअघि जेन–जीको धर्ना

एक घण्टा अगाडि
१० बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै रास्वपा कार्यालयअघि जेन–जीको धर्ना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअगाडि जेन–जी आन्दोलनका सहभागीहरूले धर्ना तथा नाराबाजी गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न, आन्दोलनका क्रममा घाइते भएकाहरूको उचित उपचार तथा व्यवस्थापन गर्न र शहीद परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका तथा झुटा मुद्दामा फसाइएको दाबी गरिएका युवाहरूलाई बिनासर्त रिहा गर्न पनि सरकारसँग माग गरेका छन्।

जेन–जी अभियन्ता सरिस्मा थापाले आन्दोलनमा घाइते, शहीद परिवारका सदस्य तथा युवाहरू सहभागी रहेको जानकारी दिँदै सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।

उनले सरकार र राजनीतिक दलहरूले आन्दोलनका क्रममा गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन्।