काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार अपराह्न राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका थिए। शपथसँगै दुवैले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
गुरुङ करिब तीन महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादपछि उनले गत वैशाख ८ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
सरकारले उक्त विषयमा अध्ययन तथा छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले त्यसलाई ग्रहण गर्दै गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेको हो।
यता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकका रूपमा परिचित महावीर पुन पहिलोपटक मन्त्री बनेका छन्। प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको नियुक्तिलाई सरकारले नवप्रवर्तनमैत्री नीतिलाई प्राथमिकता दिने संकेतका रूपमा प्रस्तुत गरेको छ।