लाहान । सिराहा निर्वाचन क्षेत्र नं. १ को चुनाव सधैँ सरल हुँदैन । यहाँ मतदाताको निर्णय कहिल्यै एकरेखीय देखिएको छैन । कहिले कांग्रेस, कहिले एमाले, त कहिले मधेश केन्द्रित दल—समय र परिस्थितिअनुसार मतदाता धार बदल्दै आएका छन् । यही कारण यो क्षेत्रलाई मधेशको राजनीतिक थर्मामिटर का रूपमा हेरिन्छ ।
यसपटक सिराहा–१ मा १४ राजनीतिक दल र १६ स्वतन्त्र उम्मेदवार गरी ३० जना चुनावी मैदानमा छन् । संख्या धेरै भए पनि वास्तविक प्रतिस्पर्धा केही सीमित पात्र र धारबीच केन्द्रित देखिन्छ—स्थापित दलको निरन्तरता, मधेश केन्द्रित दलको दाबी र नयाँ पुस्ताको वैकल्पिक राजनीतिक खोजी ।
मतदाता : संख्या बढ्यो, कुन मनसाय बलियो ?
सिराहा–१ मा यसपटक १ लाख ११ हजार ९ सय ४९ मतदाता छन् । २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ६ हजार २०१ मतदाता थिए । यस आधारमा यसपटक ५ हजार ७ सय ४८ मतदाता थपिएका छन् ।
यी नयाँ मतदातामध्ये ठूलो हिस्सा युवा र पहिलोपटक मतदान गर्ने समूह भएको अनुमान छ । यही समूहलाई कसले आकर्षित गर्छ भन्ने प्रश्नले नतिजा फरक दिशामा मोड्न सक्छ ।
इतिहास : कांग्रेसको गढ, एमालेको चुनौती
बहुदलीय व्यवस्था पुनःस्थापनापछि सिराहा–१ ले धेरैपटक आफ्नो राजनीतिक झुकाव फेरिसकेको छ ।
२०४८, २०५१, २०७० (संविधानसभा) र २०७४ : कांग्रेस विजयी
२०५६ र २०७९ : एमाले विजयी
२०६४ (संविधानसभा) : तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल विजयी
कांग्रेसबाट पदमनारायण चौधरी (२०४८, २०५१, २०७०) र प्रदीप गिरी (२०७४) ले जित निकालेका थिए । २०७९ मा भने एमालेका रामशंकर यादव ले कांग्रेसको पकड तोडे । रोचक पक्ष के भने—२०५६ मा एमालेबाट चुनाव जितेका रामचन्द्र यादव यसपटक एमाले होइन, नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् ।
मुख्य अनुहार र उनीहरूको दाबी
रामशंकर यादव (एमाले) : दोहोर्याउने प्रयास
२०७९ सालमा निर्वाचित रामशंकर यादव स्थानीयस्तरमा रोजाइमा पर्ने नेतामा गनिन्छन् । संगठन, सत्ता पहुँच र अघिल्लो जित उनको मुख्य आधार हो । इतिहासले सिराहा–१ मा दोहोरिने सांसदलाई सहज नमान्ने संकेत गरे पनि यादव पुनः विश्वास जित्ने प्रयासमा छन् ।
रामसुन्दर चौधरी (कांग्रेस) : नयाँ अनुहार, सामाजिक आधार
कांग्रेसले यसपटक रामसुन्दर चौधरीलाई अघि सारेको छ । लामो समयदेखि सामाजिक सेवामा सक्रिय चौधरी शिक्षा, स्वास्थ्य र स्थानीय विकाससँग जोडिएका कामका कारण परिचित छन् । लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसको अध्यक्ष रहँदा बिपन्न, दलित र गरिब विद्यार्थीका लागि नमूना क्याम्पस बनाएको अनुभवलाई उनले राजनीतिक पूँजी बनाएका छन् । कांग्रेसको ऐतिहासिक आधार र नयाँ अनुहारको संयोजन उनको मुख्य दाबी हो ।
बब्लु गुप्ता (रास्वपा) : जेन–जीको भरोसा
जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता सिराहा–१ का सबैभन्दा चर्चित नयाँ अनुहार हुन्। ‘हन्ड्रेड्स ग्रुप’ का संस्थापक गुप्ताले २०७६ सालदेखि प्रयोगमा आइसकेका कपडा संकलन गरी असहायलाई वितरण गर्दै आएका छन् । मन्त्री रहँदा अमेरिका जाने चाहना र एनआरएन विभाजनसँग जोडिएको विवादले आलोचना खेप्नुपरे पनि नयाँ मतदाता र वैकल्पिक राजनीतिका खोजी गर्ने समूहमा उनी आकर्षण बनेका छन् ।
मधेश केन्द्रित दल : निर्णायक कि विभाजक ?
सत्यनारायण यादव (जसपा नेपाल) : संघीयता, आरक्षण र सहिदको सपना पूरा गर्ने एजेन्डा ।
रामस्वरूप चौधरी (जनमत पार्टी) : अघिल्लो निर्वाचनको मत आधार र थारु मत जोड्ने रणनीति ।
रामचन्द्र यादव (नेकपा) : संगठनात्मक अनुभव र वैचारिक निरन्तरता ।
यी दलबीच मत विभाजन भएमा ठूला दललाई फाइदा पुग्ने सम्भावना उत्तिकै छ ।
२०७९ सालको अंकगणित
प्रत्यक्षतर्फ
एमाले – रामशंकर यादव : २९,४६२ मत (विजयी)
कांग्रेस – पदमनारायण चौधरी : २७,३७९ मत
जनमत – युगल किशोर साह : ६,८४९ मत
समानुपातिकतर्फ
कांग्रेस – १६,४८८
एमाले – १६,३३७
जसपा नेपाल – १०,४८१
जनमत – ८,१३८
रास्वपा – १,०१८
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले अगाडि देखिए पनि समानुपातिक मतले कांग्रेस र मधेश केन्द्रित दलको बलियो उपस्थिति देखाउँछ ।
सिराहा–१ फेरि चकित पार्ला ?
सिराहा–१ मा ४१ वडा, १ लाख ११ हजारभन्दा बढी मतदाता र ३० उम्मेदवार छन् । इतिहासले यहाँ मतदातालाई स्थिरभन्दा बढी अनिश्चित र प्रयोगधर्मी देखाएको छ ।
यसपटक प्रश्न स्पष्ट छ— मतदाताले अघिल्लो जितलाई निरन्तरता दिनेछन् ? कांग्रेसलाई पुनः फर्काउनेछन् ? कि जेन–जी र नयाँ राजनीतिलाई अवसर दिनेछन् ? सिराहा–१ को नतिजाले फेरि एकपटक मधेशको राजनीतिक मूड बताउनेछ।