जनकपुरधाम । मधेश प्रदेशका आठै जिल्लामा यसपटकको प्रतिनिधिसभा निर्वाचन २०७९ सालको भन्दा बिल्कुल फरक राजनीतिक मनोविज्ञानसहित अघि बढिरहेको छ। अघिल्लो निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल बीचको चुनावी तालमेलले मधेशमा एमाले पहिलो शक्तिका रूपमा उदाएको थियो। तर अहिले ३२ वटै निर्वाचन क्षेत्रको अवस्था हेर्दा कम्युनिष्ट धार नै रक्षात्मक देखिन्छ, जबकि कांग्रेस र नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी मैदान तताएको छ।
देशका पहाडी भूभागमा रास्वपाको प्रभाव निर्णायक देखिए पनि मधेशमा त्यो प्रभाव मिश्रित छ। युवा मतदातामा ‘घण्टी’ प्रतीकप्रति आकर्षण बढेको छ, तर उम्मेदवार चयनलाई लिएर असन्तुष्टि पनि उत्तिकै सुनिन्छ। विशेषगरी धनुषा–१ मा किशोरी साह कमल जस्ता व्यवसायिक पृष्ठभूमिका उम्मेदवारप्रति आर्थिक चलखेलको आरोपले रास्वपाको छविमा प्रश्न उठाएको छ।
बाराका चार क्षेत्रमध्ये क्षेत्र नं. ४ मा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यक्तिगत प्रभावका कारण प्रतिस्पर्धामा देखिए पनि अन्य क्षेत्रमा कांग्रेस मुख्य प्रतिस्पर्धी बनेको छ। पर्सामा कांग्रेसले चारै क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ—अनिल रुगंटा, अजयकुमार चौरसिया, सुरेन्द्रप्रसाद चौधरी र रमेश रिजाल। यहाँ रास्वपा र जसपा नेपालले मत काट्ने हैसियत राखे पनि समग्र चित्रमा कांग्रेस बलियो देखिन्छ।
रौतहटमा स्थिति झन् रोचक छ। क्षेत्र नं. १ मा माधवकुमार नेपाल रक्षात्मक अवस्थामा देखिन्छन्। क्षेत्र नं. ४ मा कांग्रेसका देवप्रसाद तिमलसेना र रास्वपाका गणेश पौडेलबीच कडा टक्कर छ। आम जनता पार्टीका प्रभु साह क्षेत्र नं. ३ मा प्रभावशाली देखिए पनि अन्तिम समीकरण खुला नै छ।
सर्लाही–४ मा गगन थापा मैदानमा उत्रिएपछि कांग्रेसमा उत्साह थपिएको छ। उनीसँग एमाले पृष्ठभूमिका अमनिश यादव र रास्वपाका अमरेश सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। सर्लाही–३ मा नारायणकाजी श्रेष्ठ सुरक्षित देखिँदैनन्; रास्वपाका नरेन्द्र साह कलवारले कडा चुनौती दिएका छन्।
महोत्तरीका चारै क्षेत्रमा त्रिकोणात्मक भिडन्त देखिन्छ। क्षेत्र नं. १ मा रास्वपा बलियो मानिए पनि नेकपाका गिरिराजमणि पोखरेल प्रतिस्पर्धामा छन्। क्षेत्र नं. २ मा जसपा नेपालका शरतसिंह भण्डारी सुरक्षित छैनन्।
धनुषामा ‘हेवीवेट’ प्रतिस्पर्धा छ। क्षेत्र नं. ३ मा विमलेन्द्र निधि तुलनात्मक रूपमा सहज देखिए पनि रास्वपा र एमाले दुवैले चुनौती दिएका छन्। रास्वपाका मनिष झा बलिया देखिएका छन् । एमालेकी जुली महतोलाई केही कठिनाइ देखिएको छ । धनुषा क्षेत्र नं. १ मा मातृकाप्रसाद यादवको प्रभाव कायमै छ। पति-पत्नी एमालेका रघुवीर महासेठ र जुलीकुमारी महतो यसपटक असहज स्थितिमा छन्।
सिराहामा रास्वपा केही क्षेत्रमा निर्णायक प्रतिस्पर्धी बनेको छ। क्षेत्र नं. १ र २ मा कांग्रेस–रास्वपा सीधा भिडन्त छ। क्षेत्र नं. ३ मा एमालेका लिलानाथ श्रेष्ठको व्यक्तिगत प्रभाव अन्तिम परिणाममा निर्णायक हुन सक्छ।
सप्तरीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ३ मा बलियो देखिन्छन् भने क्षेत्र नं. २ मा सीके राउत संघर्षरत् छन्। कांग्रेस र रास्वपाबीच क्षेत्र नं. १ र ४ मा कडा प्रतिस्पर्धा छ।
२०७९ को प्रत्यक्षतर्फ एमाले ९, कांग्रेस ७, जसपा ६, लोसपा ३, जनमत १, माओवादी १, एकीकृत समाजवादी २ र स्वतन्त्र ३ सिटमा विजयी भएका थिए। समानुपातिक मतमा कांग्रेस अगाडि थियो भने एमाले दोस्रो स्थानमा। तर अहिलेको चुनावी माहोलमा पुराना गठबन्धन भत्किएका छन्, मधेश केन्द्रित दलहरू रक्षात्मक छन् र रास्वपा ‘किङमेकर’ जस्तो भूमिकामा देखिन्छ।
समग्रमा, मधेशको राजनीतिक नक्सा यसपटक पूर्ण रूपमा पुनःचित्रित हुने संकेत देखिएको छ। कांग्रेस उत्साहित, एमाले रक्षात्मक, मधेशवादी दल दबाबमा र रास्वपा परीक्षणको घडीमा—यही चार कोणबीच मधेशको सत्ता समीकरण घुमिरहेको छ।