अध्ययन बिदापछि नफर्किएका ३९८ प्राध्यापकलाई त्रिविको चेतावनी

एक घण्टा अगाडि
अध्ययन बिदापछि नफर्किएका ३९८ प्राध्यापकलाई त्रिविको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर विदेश गएका तथा अध्ययन पूरा भएपछि सेवामा नफर्किएका ३९८ जना प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

विश्वविद्यालयका अनुसार अध्ययन बिदाको दुरुपयोग भएको आशंका गरिएका ती व्यक्तिहरूका कारण संस्थालाई दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

त्रिविको नियमअनुसार अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीले अध्ययन सम्पन्न भएपछि निश्चित अवधि विश्वविद्यालयमा सेवा गर्नुपर्छ । अन्यथा अध्ययन अवधिमा प्राप्त तलब, भत्ता तथा अन्य सुविधा ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए कानुनी प्रक्रिया अघि बढाइने विश्वविद्यालय प्रशासनले जनाएको छ ।