काठमाडौं । मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्पूर्ण आमाहरूप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले आमा र मातृभूमि दुवै स्वर्गभन्दा महान् हुने उल्लेख गरेका छन्। आमाको काखलाई न्यानो आश्रय र उनका चरणलाई तीर्थसरह पवित्र भन्दै उनले आमाको माया र त्यागको उच्च मूल्याङ्कन गरेका छन्।
प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतको रूपमा चित्रण गर्दै सबै आमाहरूको दीर्घायुको कामना गरेका छन्।
उनले सन्तानले आफ्ना कर्ममार्फत आमालाई सधैं गर्व महसुस गराउन सक्नुपर्नेमा जोड दिएका छन्। साथै, सम्पूर्ण आमाहरूको अनुहार सधैं उज्यालो रहोस् भन्ने कामना व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा उनले “नेपाल आमा हाँसेको देख्ने” आफ्नो चाहना रहेको उल्लेख गर्दै देशप्रति भावनात्मक प्रतिबद्धता समेत व्यक्त गरेका छन्।