अब २४ घण्टामै लाइसेन्स: छपाइ प्रक्रिया तीव्र बनाउन सरकारको निर्णय

७ घण्टा अगाडि
अब २४ घण्टामै लाइसेन्स: छपाइ प्रक्रिया तीव्र बनाउन सरकारको निर्णय

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्तिमा देखिएको ढिलाइ अन्त्य गर्ने उद्देश्यले अब ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सेवा छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। उनले अब सम्भव काम रोकिने अवस्था नरहने र सेवाग्राहीले छिटो सेवा पाउने बताएका छन्।

विगतमा व्यवस्थापन र इच्छाशक्तिको अभावका कारण काम ढिलो भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अब समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

मुद्रण केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन रहेकोप्रति उनले असन्तुष्टि जनाउँदै अब ती उपकरणको पूर्ण उपयोग गरिने बताएका छन्। साथै, नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिएका छन्।

केन्द्रका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै आएको छ। विदेश जाने सेवाग्राहीलाई प्राथमिकता दिइँदै वैशाख १२ गतेसम्म १२ लाख लाइसेन्स छाप्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तभित्र तयार गर्ने लक्ष्य राखिएको छ।

आगामी दिनमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरसमेत यही केन्द्रबाट छाप्ने योजना रहेको जनाइएको छ।