काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त गरी १२ वटा संसदीय समितिले आज सभापति पाउने भएका छन्। दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापति चयनको कार्यसूची तय गरिएको छ।
संघीय संसद सचिवालयमा बिहीबार नै सबै समितिका सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ। जसअनुसार १२ मध्ये १० समितिमा एकल उम्मेदवारी परेकाले ती सभापति निर्विरोध निर्वाचित हुने निश्चित भएको छ भने २ समितिमा भने प्रतिस्पर्धा हुने देखिएको छ।
पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले उम्मेदवारी दिएका छन्। त्यस्तै कानून, कृषि, सार्वजनिक लेखा, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थ तथा उद्योग समितिमा पनि एकल उम्मेदवारी परेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र नीति अनुगमन समितिमा भने दुई–दुई जनाको उम्मेदवारी परेकाले मतदान हुने सम्भावना छ। आजै बैठकमार्फत सभापति चयनको औपचारिक घोषणा गरिने सचिवालयले जनाएको छ।