आहारपूरक खाद्यको आवश्यकता बढ्दै, पहुँच चुनौतीपूर्ण

३ महिना अगाडि
आहारपूरक खाद्यको आवश्यकता बढ्दै, पहुँच चुनौतीपूर्ण

काठमाडौं । पोषणयुक्त जीवनशैलीका लागि आहारपूरक खाद्य सामग्रीको आवश्यकता नेपालमा दिनानुदिन बढ्दै गएको छ। तर उपलब्धता, नियमित पहुँच र जनचेतनाको कमीका कारण अझै पनि ठूलो जनसंख्या पोषणको अभावमा रहेको तथ्यांकहरूले देखाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित पोषण कार्यक्रमका अनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये केवल करिब २१ प्रतिशतले मात्र बहुपोषक तत्व मिश्रित पाउडरको पहिलो चरण प्राप्त गरेका छन्, जबकि तीन चरण पूरा गर्ने बालबालिकाको संख्या ३ प्रतिशतभन्दा कम रहेको छ। यसले आहारपूरक सामग्रीको नियमित आपूर्ति र प्रभावकारी वितरणमा समस्या रहेको संकेत गर्छ।

त्यसैगरी, ५ वर्षमुनिका करिब ४६ प्रतिशत बालबालिका र १५ देखि ४९ वर्ष उमेर समूहका करिब ३५ प्रतिशत महिलामा रगतको कमी रहेको तथ्यांकले देखाउँछ। पोषण विज्ञहरूका अनुसार आयरन, भिटामिन–ए, जिंकजस्ता आवश्यक पोषक तत्वको कमी यस समस्याको प्रमुख कारण हो।

अध्यक्ष विप्लव रञ्जित भन्छन्, 'आहारपूरक खाद्य सामग्रीको प्रयोगमा वैज्ञानिक आधार, सरकारी नियमन र स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक छ । सही मापदण्डअनुसार उत्पादन र वितरण हुन सके आहारपूरक खाद्य सामग्रीले नेपालमा पोषण समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।' 

आवश्यकता र उपलब्धताबीचको अन्तर

सरकारले भिटामिन–ए वितरण कार्यक्रम, गर्भवती तथा सुत्केरी महिलाका लागि आयरन चक्की वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आए पनि दुर्गम क्षेत्र, आपूर्ति व्यवस्थापन र जनचेतनाको अभावका कारण अपेक्षित परिणाम आउन सकेको छैन ।

यसैबीच, नेपाल आहारपूरक सौन्दर्यबर्द्धक संघले आहारपूरक खाद्य सामग्रीको सुरक्षित प्रयोग, गुणस्तर मापदण्ड र उपभोक्ता सचेतनामा सक्रिय पहल गर्दै आएको छ। संघले आहारपूरक खाद्य सामग्रीलाई औषधिको विकल्प नभई आवश्यक पोषण पूरकको रूपमा बुझाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

संघका अध्यक्ष विप्लव रञ्जितले आहारपूरक खाद्य सामग्रीको प्रयोगमा वैज्ञानिक आधार, सरकारी नियमन र स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताउँदै आएका छन्। उनका अनुसार सही मापदण्डअनुसार उत्पादन र वितरण हुन सके आहारपूरक खाद्य सामग्रीले नेपालमा पोषण समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। महासचिव सुरज पौडेलले सरकार नियमनमा स्पष्ट दृष्टिकोण नरहेको टिप्पणी गरेका छन् । उनले आमनागरिकको आवश्यकताका आधारमा सरकारले सहज र प्रष्ट नीति बनाउनुपर्ने माग गरेका छन् । 

नेपालमा पोषणको आवश्यकता बढ्दो छ तर आहारपूरक खाद्य सामग्रीको पहुँच र निरन्तरता कमजोर छ । त्यसैले अध्यक्ष रञ्जित भन्छन्, 'सरकारी कार्यक्रमसँगै निजी क्षेत्र र संघसंस्थाको सहकार्य अपरिहार्य छ ।' विशेषज्ञहरूको भनाइमा, स्थानीय रूपमा उपलब्ध पोषिलो खानासँगै गुणस्तरीय आहारपूरक खाद्य सामग्रीको संयोजन नै दीर्घकालीन समाधान हुन सक्छ।

नेपालमा ६ देखि २३ महिनाका बालबालिकामा माईक्रो–न्युट्रियन्ट–पाउडरको तीन चक्रमध्ये मात्र करिब ३प्रतिशत ले पूर्ण प्राप्त गरेको तथ्यांक छ । र पहिलो चक्र मात्र २१ प्रतिशत बालबालिकाले पाएका छन् । यसले पोषण पूरक सामग्रीको पहुँच र नियमित उपलब्धतामा ठूलो अन्तर देखाउँछ।

यसैगरी, बालबालिका तथा प्रजनन उमेरका महिलामा आइरन र भिटामिन–ए कमीको अवस्था पनि व्यापक छ। विश्व स्वास्थ्य सर्वेक्षणका अनुसार ५ वर्षभन्दा कम उमेरका बच्चाहरूमध्ये करिब ४६ प्रतिशत र १५–४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतमा आइरन कमी देखा परेको तथ्याङ्क छ । जसले पोषण आवश्यकतालाई थप जटिल बनाएको छ।