काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा १ हजार ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगको कार्यालय मधेस प्रदेशका अनुसार यसपटक मधेसमा नयाँदेखि पुराना सबै राजनीतिक दलबीच प्रतिस्पर्धा तीव्र बनेको छ।
जिल्लागत रूपमा हेर्दा धनुषाबाट सबैभन्दा धेरै १५८ जना उम्मेदवार चुनावी मैदानमा छन्। त्यसैगरी महोत्तरी र रौतहटबाट १४३–१४३ जना, सर्लाही र सिराहाबाट १३९–१३९ जना, बाराबाट ११२ जना, पर्साबाट १०९ जना र सप्तरीबाट १०५ जनाले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारको यो संख्याले मधेसमा चुनावी प्रतिस्पर्धा कति सघन छ भन्ने देखाउँछ।
यसपटकको निर्वाचनमा मधेसकै विभिन्न निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्तरका पार्टी प्रमुखहरू स्वयं उम्मेदवार बनेपछि राजनीतिक माहोल झनै तातिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सीके राउत र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह मधेसकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्।
क्षेत्रगत रूपमा कांग्रेस सभापति थापा सर्लाही–४, राजेन्द्र महतो सर्लाही–२, उपेन्द्र यादव सप्तरी–३, सीके राउत सप्तरी–२ र प्रभु साह रौतहट–३ बाट उम्मेदवार बनेका छन्। शीर्ष नेताहरू नै मैदानमा उत्रिएपछि मधेसको निर्वाचन राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ।
नेपाली कांग्रेसले मधेसका सबै जिल्लामा प्रभावशाली उम्मेदवार अघि सारेको छ। धनुषाका चारै क्षेत्रमा रामपल्टन यादवदेखि विमलेन्द्र निधिसम्मका नेताहरू उम्मेदवार छन् भने महोत्तरी, सर्लाही, सप्तरी, सिराहा, रौतहट, बारा र पर्सामा पनि कांग्रेसले पुराना तथा अनुभवी नेताहरूलाई प्रतिस्पर्धामा उतारेको छ।
त्यस्तै, नेकपाले पनि मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ। धनुषादेखि पर्सासम्म नेकपाका तर्फबाट पूर्वमन्त्री, केन्द्रीय नेता र क्षेत्रीय प्रभाव भएका व्यक्तिहरू चुनावी मैदानमा छन्। रौतहट–१ बाट माधवकुमार नेपाल उम्मेदवार बन्नु यस क्षेत्रको अर्को महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।
नेकपा एमालेले पनि मधेसमा सशक्त उपस्थिति जनाउँदै सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सबै क्षेत्रमा एमालेका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। पार्टीले पुराना संगठनात्मक आधार भएका नेताहरूलाई प्राथमिकता दिएको देखिन्छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि मधेसमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयासस्वरूप धनुषा, महोत्तरी, सर्लाही र सिराहा लगायतका क्षेत्रमा उम्मेदवार अघि सारेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाका उम्मेदवारलाई मतदाताले कसरी लिन्छन् भन्ने चासोसमेत बढेको छ।
समग्रमा, यसपटकको प्रतिनिधि सभा निर्वाचनमा मधेस प्रदेश देशकै सबैभन्दा बढी प्रतिस्पर्धात्मक क्षेत्र बनेको देखिन्छ। उम्मेदवारको उच्च संख्या, पार्टी प्रमुखहरूको प्रत्यक्ष प्रतिस्पर्धा र नयाँ–पुराना राजनीतिक शक्तिको भिडन्तले मधेसको चुनावी परिणाम राष्ट्रिय राजनीतिमा निर्णायक असर पार्ने अनुमान गरिएको छ।