हुम्ला । जलवायु परिवर्तनको प्रत्यक्ष र गहिरो असरका कारण हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत पर्ने लिमी उपत्यका क्रमशः निर्जन बन्दै गएको छ। बारम्बारको बाढी, हिमताल विस्फोटको बढ्दो जोखिम र आधारभूत सुविधाको अभावले यहाँका बासिन्दा पुख्र्यौली थलो छोड्न बाध्य भएका छन्।
नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरू सामूहिक रूपमा टाक्ची गाउँतर्फ स्थानान्तरण हुने सहमतिमा पुगेका छन्। केही दिनअघि मात्रै तीनै गाउँका प्रतिनिधिहरूबीच स्थानान्तरणसम्बन्धी सहमति भएको स्थानीयले बताएका छन्।
स्थानीय समाजसेवी मंगल लामाका अनुसार जाङ गाउँमा अहिले दुई घरधुरी मात्र बाँकी छन्। यसअघि ६४ घरधुरी रहेको जाङ गाउँ लगभग रित्तिसकेको छ। “हल्जीका ९६ र तिलका १९ घरधुरीका बासिन्दाहरू पनि टाक्ची गाउँ सर्ने सहमतिमा पुगेका छन्,” लामाले बताए, “अब लिमीमा बस्न सक्ने अवस्था छैन।”
‘हिमालपारिको स्वर्ग’ आज पलायनको कथा
लिमी उपत्यका तिब्बतसँग जोडिएको हिमालपारिको एक महत्वपूर्ण सीमावर्ती क्षेत्र हो। सदियौंदेखि तिब्बती संस्कृतिको जीवन्त केन्द्रका रूपमा चिनिँदै आएको यो उपत्यकामा हल्जी, तिल र जाङ गाउँ रहेका छन्। कैलाश मानसरोवर दर्शनको प्रमुख मार्गमा पर्ने लिमी क्षेत्र प्राचीन गुम्बा, परम्परागत बस्ती र शान्त वातावरणका कारण ‘लुकेको स्वर्ग’का रूपमा परिचित थियो।
तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरले यो स्वर्ग पलायनको कथामा बदलिएको छ। तापक्रम वृद्धि, हिउँ पग्लिने दर बढ्नु र हिमतालहरू अस्थिर बन्दै जानुले यहाँको जनजीवन असहज मात्र होइन, जोखिमपूर्ण बनेको छ।
बाढी र हिमताल विस्फोटको त्रास
स्थानीयका अनुसार हरेक वर्ष खोलानालाको धार परिवर्तन भइरहेको छ। खेतबारी बग्ने, घर जोखिममा पर्ने र धार्मिक संरचना समेत प्रभावित हुने अवस्था आएको छ। हिमताल विस्फोटको सम्भावना बढ्दै गएपछि बसाइँ लम्ब्याउन नसक्ने निष्कर्षमा लिमीवासी पुगेका हुन्।
“पहिले हिउँ र हिउँपहिरो मात्रै समस्या थियो,” वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले भने, “अहिले तापक्रम बढेर नयाँ–नयाँ जोखिम थपिएका छन्। अब यहाँ बस्न सम्भव छैन।”
सीमा सुरक्षा र पर्यावरण संरक्षणमा गम्भीर चिन्ता
लिमी उपत्यका चीनको तिब्बतसँग सिधै जोडिएको संवेदनशील सीमावर्ती क्षेत्र हो। यहाँ जनसंख्या घट्दै जानुले सीमा सुरक्षा कमजोर हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
मंगल लामाका अनुसार अहिले पनि सीमा सुरक्षा ठूलो हदसम्म स्थानीयकै भरमा रहेको छ। “स्थानीय पलायन भएपछि चोरी–शिकारी बढ्ने, जडीबुटी र वनजंगल जोखिममा पर्ने खतरा छ,” उनले भने, “त्यहाँ खटिएका सुरक्षाकर्मीलाई समेत पर्याप्त कपडा र सुविधा छैन। आफू कठ्यांग्रिएर बस्नेले सीमा कसरी जोगाउन सक्छ रु”
सांस्कृतिक धरोहरसमेत स्थानान्तरण
लिमीवासीहरू आफूमात्र होइन, आफ्नो संस्कृति पनि सँगै लैजान बाध्य भएका छन्। केही गुम्बा र सांस्कृतिक सम्पदाहरू सुरक्षित स्थानतर्फ सारिएको स्थानीयले बताएका छन्। हल्जीको ऐतिहासिक रिन्चेनलिङ गुम्बा जस्ता सम्पदा संरक्षणविहीन हुने खतरा बढ्दै गएको छ।
स्थानीयको भनाइमा लिमी केवल बसोबासको स्थान होइन, इतिहास, संस्कृति र आस्थाको केन्द्र हो। तर राज्यको पर्याप्त ध्यान नपुग्दा त्यो सम्पदा संकटमा परेको छ।
राहत, बजेट र राज्यको अनुपस्थिति
वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार दुर्गम लिमी क्षेत्रमा राहत र विकासका कार्यक्रम प्रभावकारी रूपमा पुग्न सकेका छैनन्। “हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि दुर्गम बस्तीमा पुगेको छैन,” उनले भने, “पालिकामा बजेट नै पर्याप्त हुँदैन। जलवायु परिवर्तनले ठूलो क्षति गरिरहेको छ।”
उनका अनुसार सीमा सुरक्षा अहिलेसम्म स्थानीय जनताले अनौपचारिक रूपमा गर्दै आएका छन्। “सरकारले अब प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ,” तामाङले जोड दिए।
हिमाली नेपालकै साझा कथा
लिमीवासीहरूको बाध्यता केवल एक उपत्यकाको कथा होइन। बढ्दो तापक्रम, आधारभूत सुविधाको अभाव र विपद्को त्रासले हिमाली क्षेत्रका युवाहरू शहर पलायन भइरहेका छन्। बस्ती रित्तिँदा सीमावर्ती क्षेत्र निर्जन बन्दै जान्छ, जसले अवैध गतिविधिको जोखिम बढाउँछ।
यदि समयमै सडक सुधार, विपद् व्यवस्थापन, आधारभूत सेवा विस्तार र सांस्कृतिक पर्यटनमा लगानी नगरिए हिमाली सीमा नै असुरक्षित बन्न सक्ने स्थानीयको चेतावनी छ।
हजारौँ वर्ष पुरानो संस्कृति बोकेको लिमी उपत्यका आज अस्तित्वको लडाइँमा छ। यो कथा केवल लिमीको होइन, हिमाली नेपालको हो। यदि अब पनि ढिलाइ गरियो भने कैलाशको छायाँमा बसेको यो स्वर्ग इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ।