रोकिएका गोरखा भर्ती पुन: सञ्चालन हुने भारतको अपेक्षा

२ महिना अगाडि
रोकिएका गोरखा भर्ती पुन: सञ्चालन हुने भारतको अपेक्षा

काठमाडौं । भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले  भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको बताएका छन् । उनले नेपालले निर्णय लिनेबित्तिकै यो पुनः सुचारु हुने बताए ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई शताब्दीऔंको निरन्तरताका रूपमा व्याख्या गर्दै गोरखा सैनिकबारे हाल देखिएका असमझदारीहरु छिट्टै हल हुने समेत बताए । उनले दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभई शताब्दीयौंको साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्दै आपसि सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा समेत राखे ।

उनले अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रस्ट पार्दै यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न आग्रह गरे । उनले अग्निवीर योजनालाई ‘सेटब्याक’ नभई युवाका लागि अवसरका रूपमा व्याख्या गर्दै नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया सुचारु हुने र गोरखाहरू भारतीय सेनाको अभिन्न अंग बनिरहने दाबी पनि गरे । नेपाल भूपरिवेष्टित राष्ट्र भएपनि भारतसँगको कनेक्टिभिटीका कारण व्यावहारिक रूपमा एक ‘सामुन्द्रिक राष्ट्र’ नै भएको उनको भनाइ छ ।

उनले भारतको ६ प्रतिशत तेल समुन्द्रबाट आउने र नेपालमा आउने इन्धन पनि त्यहीँबाटै आपूर्ति हुने हुँदा समुन्द्री सुरक्षाले नेपाललाई प्रत्यक्ष असर गर्ने उल्लेख पनि गरे । उनले भने, ‘एक गोर्खाहरू दुई शताब्दीदेखि भारतीय सशस्त्र बलको अभिन्न अंग रहँदै आएका छन् । स्वतन्त्रता पछि उनीहरूका लागि आउन र भर्ती हुन सधैं खुला प्रवाह रहँदै आएको छ ।

अग्निवीरको पक्षलाई फेरि पछाडि फर्केर हेर्नुपर्छ । छोटो अवधिको सैन्य सेवा सधैं भारत र अन्य धेरै देशहरूमा पेन्सन नपाउने अवस्थामा थियो । आज पनि त्यस्तै छ । यो सधैं छोटो कार्यकाल, उच्च तिब्रताको तालिम, युवा र उनीहरूको ऊर्जाको उपयोग, उनीहरूको चरित्र र अनुशासन निर्माण, उनीहरूलाई फराकिलो दृष्टिकोण दिने कुरामा आधारित हो ।

भारतमा सन् १९७५ पछि यसमा परिवर्तन आयो । र भारतमा आएको परिवर्तनको विस्तार स्वरूप, हामीबीच सधैं रहेको र सम्मान गरिएको सम्झौताका कारण, यो स्वतः गोरखाहरूमा पनि लागू भयो । तर १९७५ सम्म भारतीय सशस्त्र बलमा कलर सर्भिस सात वर्षको थियो । यो पेन्सनयोग्य थिएन। यसलाई युवाहरूलाई कलिलो उमेरमा ल्याउने, प्रयोग गर्ने, तालिम दिने, शिक्षा दिने, सक्षम बनाउने र त्यसपछि उनीहरूलाई नागरिक समाजमा बलियो सदस्यको रूपमा फिर्ता पठाउने रूपमा हेरिन्थ्यो। यो सधैं यसरी नै चलिआएको थियो ।

पछिल्लो समय नेपाली युवाहरू किन भर्ती भइरहेका छैनन् भन्ने चिन्ता र बहसहरूसँग म परिचित छैन, तर म पक्का छु कि जब ती सम्बोधन हुनेछन्, हामी शताब्दीयौंदेखि चलिआएको पुरानै तरिकामा फर्कनेछौं र यो निरन्तर रहनेछ ।’ ‘सागरमाला’ परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटीमा सुधार भएको र यसले नेपालको सामान ढुवानीको समय घटाएर व्यापारमा सहजीकरण गरेको उनको दाबी छ ।