बंगलादेश निर्वाचनले नेपाललाई दिएको सन्देश

२ महिना अगाडि
बंगलादेश निर्वाचनले नेपाललाई दिएको सन्देश

काठमाडौं । बंगलादेशमा हालै निर्वाचन सम्पन्न भएको छ । यसपटकको बंगलादेशी मतदाताले नयाँ होइन, पुरानै दल चुने-त्यो पनि दुईतिहाइ बहुमतबाट । अब प्रश्न उठ्छ- निर्वाचन गराउन आन्दोलनको हुँकार उराल्ने विद्यार्थीहरुले बनाएको दल नेशनल सिटिजन पार्टी (एनसीपी) किन कमजोर देखियो त ? यो प्रसंग किन पनि महत्वपूर्ण छ भने नेपालमा पनि यस्तै अवस्था त हुने होइन ?

सुरुमा बंगलादेश निर्वाचन परिणाम बुझौ । बंगलादेशमा २९७ सीटमध्ये २०९ सीटसहित बंगलादेश नेशनल पार्टी (बीएनपी) ले दुईतिहाइ मत अँगालेको छ । अर्का धार्मिक कट्टरपन्थी दल जामेत-ए-ईश्लामीले ६८ सीट हात परेको छ । बाँकी युवा/विद्यार्थी आन्दोलनको जगमा बनेको एनसीपीले ६ सीटमात्र पायो ।

को हुन् रहमान ?

अबामी लिगकी नेता शेख हसिना युग अघि सन् २००६ सम्म बीएनपी सत्तामा थियो । हसिनाजस्तै त्यसबेला खालिदा जिया बंगलादेशको शक्तिमा थिइन । शक्तिशाली तत्कालीन प्रधानमन्त्री खालिदाको पछाडिबाट शक्ति प्रयोग गर्न माहिर थिए, हालका ६० वर्षीय बीएनपीका अध्यक्ष तारिक रहमान । उनलाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीसँग जोडेर हेरिन्थ्यो ।

अर्थात रहमान आमाको नाममा सत्ता र शक्तिको चरम प्रयोग गर्थे, त्यसैले त उनलाई 'डार्क प्रिन्स'पनि भनिन्थ्यो । तर, हसिना सत्तामा आएपछि बीएनपीमाथि कडा रुप देखाइयो । खालिदा जिया भ्रष्टाचरको आरोपमा जेल पुर्‍याइयो भने रहमान निर्वासनमा धकेलिए । उनी १७ वर्षपछि सन् २०२४ को बंगलादेशको युवा/विद्यार्धी आन्दोलनपछि हसिना सत्ताच्यूत हुँदै भारत लखेटिएपछि स्वदेश फर्किएका थिए । उनी बेलायतमा निर्वासनमा थिए ।

यसपटकको निर्वाचनमा उनले नयाँ रणनीति अपनाए । उनले अवामी लिगकी नेता हसिनालाई तत्काल स्वदेश फर्काउन दबाब दिएनन् नत उनले कडा र तिक्त अभिव्यक्ति नै दिए । उनले यसपटक आम मुद्दालाई प्राथमिकतामा राखे र भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिने वक्तव्य दिए । युवा रोजगारी, पानी समस्या समाधानको पहल, परिवार परिचयपत्र, राष्ट्रिय वडापत्र, अरुभन्दा पहिले बंगलादेशको नारा अघि सारेका थिए, रहमानले । अर्थात आफू सच्चिएको सन्देश दिन खोजेका थिए ।

अन्य दल

अब कुरा गरौं जामेत-ए-इश्लामी दलको- जुन अहिले दोस्रो ठूलो दल बनेको छ । यो धार्मिक कट्टरपन्थी दल हो । यो दल पाकिस्तानसँग मिल्ने मत राख्छ । अनि इश्लाम नै मुख्य भन्छ ।

अब आन्दोलनबाट उदायको नेशनल सिटिजन पार्टी (एनसीपी) किन कमजोर भयो त ? प्रश्न अहिले नेपालमा निकै चर्चामा छ । चर्चाको पहिलो कारण बंगलादेशमा जस्तै नेपालमा पनि युवा आन्दोलनले सत्ता पलट गर्दै निर्वाचन खोज्यो । पुराना नेताको तीव्र स्खलनको आवाज सडकमा पोखियो । ठ्याक्कै उही बंगलादेशमा पनि यस्तै भएको थियो ।

त्यहाँ भनसुन र भ्रष्टाचारले युवा/विद्यार्थी वाक्क थिए । त्यसै सन् २०२४ जुन आन्दोलनको उभार पोखियो । दुईतिहाइकी हसिना लखेटिनुपर्‍यो ।  त्यसपछि नागरिक सरकारका रुपमा युनुसले सत्ता सम्हाले र अहिले निर्वाचन गराए । आन्दोलनको जड थियो, निजामति जागिरको कोटा निर्धारणसम्बन्धी ।

विद्यार्थीहरु सरकारी जागिरमा विपन्न, पछाडि पारिएकाहरुको कोटा चाहन्थे । तर, हसिना सरकारले सुनेन । तव सुरु भयो विद्रोह । त्यसैको परिणाम निर्वाचनसम्म आइपुगेको हो । यो निर्वाचनमा आन्दोलन पक्षले एनसीपी दल खोलेर मैदानमा उत्रिए । तर, परिणाम कमजोर देखियो । अर्थात जनताले उनीहरुको सत्ता प्राप्ती अस्वीकार गरे । किन त ?

यसका केही कारण छन्- उनीहरु विद्रोहको गतिलाई कायम राख्न असफल बने । आन्तरिक विभाजन सुरु भयो, स्रोतसाधनको कमजोर अवस्था, तल्लो तहमा संगठन नहुनु र सामाजिक सञ्जालको गलत प्रयोग । यी कारणले विद्रोही शक्ति निर्वाचनबाट अस्वीकृत भयो ।

नेपाललाई के सन्देश ?

अब ठ्याक्कै नेपालको अवस्था हेरौं । सेप्टेम्बर ८ मा युवा सडकमा उत्रिए । केपी शर्मा ओली सत्ताच्यूत बने । युनुस जस्तै सुशीला कार्की सरकार बन्यो । यो सरकारले फागुन २१ मा निर्वाचन घोषणा गर्‍यो । अब अहिले ठ्याक्कै बंगलादेशकै जस्तो अवस्थामा विद्रोहीहरु छन् । उनीहरु विभाजित जस्ता देखिन्छन् । यतिवेला राजनीतिक धरातल र नयाँ प्रतिनिधित्व ठान्ने दलहरुले सुझबुझ निर्णय लिन सक्नुपर्छ अनि जनभावना सम्बोधन गर्नुपर्छ । अनिमात्र जनविश्वास पाउँछन् । नत्र पुरानै असफल दलहरु हावी हुन बेर छैन् ।