सीमापार पर्यटनमा जोडः पर्यटन कूटनीति, आवागमन र बजार पुनरुत्थान अपरिहार्य

एक महिना अगाडि
सीमापार पर्यटनमा जोडः पर्यटन कूटनीति, आवागमन र बजार पुनरुत्थान अपरिहार्य

काठमाडौं । नेपालको अर्थतन्त्र चलायमान बनाउन सीमापार पर्यटन, पर्यटन कूटनीति, सहज आवागमन र बजार पुनरुत्थान अत्यन्तै आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। नेपाल पर्यटन संगोष्ठी २०२६ अन्तर्गत आयोजित सीमापार पर्यटन, पर्यटन कूटनीति, आवागमन र बजार पुनरुत्थानवि षयक प्यानल छलफलमा वक्ताहरूले भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन रणनीति अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

भारत–चीन केन्द्रित पर्यटन रणनीति आवश्यक

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले नेपाल खुला सीमा रहेको भारत र सीमा जोडिएको चीनबीच रहेको भौगोलिक यथार्थलाई पर्यटन अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। नेपाल भू–आवेष्ठित मुलुक भएकाले निर्यातभन्दा पर्यटन क्षेत्र नेपालका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र भएको उनको भनाइ छ। पछिल्लो समय मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ। सरकारले २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि त्यो पूरा हुन सकेको छैन,उनले भने, भारत र चीनबाट थोरै मात्र पर्यटक ल्याउन सकियो भने पनि नेपालको अर्थतन्त्रमा ठूलो सुधार आउन सक्छ।

नेपाल आउने पर्यटकले हाल दैनिक औसत ४० अमेरिकी डलर मात्र खर्च गर्ने गरेको उल्लेख गर्दै उनले यो खर्चलाई दोब्बर बनाउनेतर्फ सरकार र निजी क्षेत्रले संयुक्त प्रयास गर्नुपर्ने बताए। साथै, पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासमा पनि सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव सचिव मणिरत्न शर्माले नेपाललाई विश्वले अझै पनि सगरमाथा र बुद्धका कारण मात्र चिनेको उल्लेख गर्दै अब अन्य पर्यटकीय क्षेत्र र सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्नुपर्ने बताए। पर्यटकलाई सगरमाथा वा अन्नपूर्ण आरोहणमा जानुअघि नेपालका ऐतिहासिक धरोहर, संग्रहालय र सांस्कृतिक स्थलहरूको भ्रमण गराउने व्यवस्था गर्नुपर्छ,उनले भने, पर्यटक जति धेरै दिन नेपाल बस्छन्, त्यति नै मुलुकको अर्थतन्त्र बलियो हुन्छ। उनले पर्यटन र संस्कृति प्रवर्द्धनमा सबै मन्त्रालय तथा निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै नेपाल आएका आगन्तुकलाई स्वागत गर्ने तरिका र उनीहरूको बसाइलाई सहज र आकर्षक बनाउने विषयमा पनि ध्यान दिनुपर्ने बताए।

धार्मिक पर्यटन र भिसा सहजीकरण अपरिहार्य

निजी क्षेत्रका प्रतिनिधिहरूले धार्मिक पर्यटनमा नेपालसँग ठूलो सम्भावना रहेको उल्लेख गरे। ढानेश्वर महादेव मन्दिर, लुम्बिनी, मुक्तिनाथजस्ता धार्मिक स्थलमा भारत, चीन, थाइल्याण्ड, श्रीलंका, म्यानमार र भुटानबाट ठूलो संख्यामा आगन्तुक आउन इच्छुक रहेको उनीहरूको भनाइ थियो। भारतले जस्तै नेपालले पनि छिमेकी तथा बौद्ध मुलुकका नागरिकलाई फ्रि भिसा वा सहज भिसा नीति अपनाएमा धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिन्छ,उनीहरूले बताए। भिसा प्रक्रिया झन्झटिलो भएकै कारण थाइल्याण्ड, भुटानलगायतका देशबाट अपेक्षित पर्यटक नेपाल आउन नसकेको उनीहरूको गुनासो थियो।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन

सरकारले अर्बौँ लगानीमा निर्माण गरेका दुई अन्तर्राष्ट्रिय विमानस्थल हाल प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको विषय पनि छलफलमा उठाइएको थियो। वक्ताहरूले ती विमानस्थल भारत वा चीनसँग सहकार्य गरेर सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक घण्टौँ ट्राफिक जाम हुने अवस्थाले विदेशी पर्यटकमा नकारात्मक सन्देश जाने भएकाले यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग थियो।

पुनर्जननशील पर्यटन र जलवायु सहनशीलता

पुनर्जननशील आतिथ्य तथा पर्यटन विशेषज्ञ डाक्टर जोन हम्मेलले अबको पुस्ता भविष्य–केन्द्रित रहेको उल्लेख गर्दै पर्यटनलाई केवल जलवायु परिवर्तनसँग अनुकूलन गर्ने माध्यम होइन, समाधानको हिस्सा बनाउने सोच आवश्यक रहेको बताए। नेपालसँग आफ्नै मौलिक नीति, जीवित संस्कृति र स्थानीय साधन छन्। ती सबैलाई सदुपयोग गर्नु नै दिगो र दीर्घकालीन समाधान हो, उनले भने। निजी क्षेत्र, सरकार, किसान र विभिन्न संघ–संस्थाबीच सहकार्य गरेर पुनर्जननशील पर्यटन अघि बढाउनुपर्नेमा उनले जोड दिए।

नेपालको संस्कृति बुझाउन चुक्यौँ
सुनिल शर्मा, निर्देशक, नेपाल पर्यटन बोर्डले नेपाललाई चिनाउन धेरै खर्च आवश्यक नरहेको भन्दै समस्या नेपालको संस्कृति अन्तर्राष्ट्रिय पर्यटकलाई राम्रोसँग बुझाउन नसक्नु नै मुख्य चुनौती भएको बताए। दरबार स्क्वायरजस्ता ऐतिहासिक स्थलको महत्वसमेत हामीले पर्यटकलाई स्पष्ट रूपमा बुझाउन सकेका छैनौँ, उनले भने। होटल एसोसिएशनले पर्यटन प्रवर्द्धनलाई व्यवस्थित र प्रणालीगत बनाउन निरन्तर काम गरिरहेको उनले जानकारी दिए।

उत्पादन, अर्गानिक र पर्यटन जोडिनुपर्छ

बैंक तथा वित्तीय संस्था परिषद् नेपालका पूर्व अध्यक्ष पवन गोल्यानले नेपालमा उत्पादन हुने धागो, अर्गानिक कृषि उत्पादनजस्ता क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताए। हामी आफैँलाई थाहा छैन, नेपालमा के–के उत्पादन हुन्छ। यी सबैलाई पर्यटनसँग जोडेर ब्रान्ड बनाउन सकिन्छ,उनले भने। तथ्यले देखाउँछ सम्भावना छ । नेपालले पनि सही नीति, कूटनीति र सहजीकरण अपनाएमा सहजै पर्यटक संख्या बढाउन सक्ने निष्कर्ष निकालिएको थियो।