निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नरोकिने

एक महिना अगाडि
निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नरोकिने

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान यथावत सञ्चालन हुने भएको छ । यससम्बन्धी निर्णय गर्दै निर्वाचन आयोग ले गृह मन्त्रालय लाई आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार गरेको छ ।

आयोगले निर्वाचन सुरक्षा र मतदान प्रक्रियालाई प्रभाव नपर्ने गरी उडान सञ्चालनको वातावरण बनाउन निर्देशन दिएको हो । निर्णयअनुसार मतदानको दिन देशभरका विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित तालिकाअनुसार सञ्चालन हुनेछन् ।

त्यस्तै, आयोगले टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि पुनः विमानस्थलसम्म आवतजावत गर्न सहजीकरण गर्न आग्रह गरेको छ । यात्रुहरूले निजी सवारीसाधन वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनिएको छ ।

यसअघि निर्वाचनका दिन सुरक्षा कारण देखाउँदै आन्तरिक उडान स्थगित गर्ने अभ्यास थियो । सोही आधारमा नेपाल पर्यटन बोर्ड ले ट्राभल एड्भाइजरीसमेत जारी गर्ने गरेको थियो । तर यसपटक आयोगले निर्वाचन र हवाई सेवा दुवैलाई सन्तुलित रूपमा सञ्चालन गर्ने निर्णय लिएको हो ।

आयोगको यो निर्णयले पर्यटन क्षेत्र, व्यवसायिक यात्रा र आपत्कालीन आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ । साथै विदेशबाट आउने–जाने यात्रु तथा आन्तरिक यात्रुहरूलाई अनावश्यक असुविधा नपर्ने विश्वास गरिएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउँदै सार्वजनिक सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।