कुन-कुन दलले कटाउलान् थ्रेसहोल्ड ?

एक महिना अगाडि
कुन-कुन दलले कटाउलान् थ्रेसहोल्ड ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अगाडि बढ्दै जाँदा नागरिकबीच केही महत्वपूर्ण जिज्ञासा उठिरहेका छन्। देशभर कति मत खस्यो, कति मत बदर हुन सक्छ, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन कति मत आवश्यक पर्छ र यदि कुनै दलले थ्रेसहोल्ड कटाउन सकेन भने त्यसको राजनीतिक हैसियत के हुन्छ भन्ने प्रश्नहरू अहिले चर्चामा छन्।

देशभर कति मत खस्यो?

निर्वाचन आयोग को प्रारम्भिक तथ्यांकअनुसार देशभर करिब १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको देखिन्छ। नेपालमा निर्वाचनका बेला केही प्रतिशत मत बदर हुने प्रवृत्ति रहँदै आएको छ। यदि औसत ५ प्रतिशत मत बदर हुने मान्ने हो भने करिब ५ लाख ४८ हजार मत बदर हुन सक्छ। त्यसपछि सदर मत करिब १ करोड ४ लाख २८ हजार ८२५ हाराहारी रहने अनुमान गरिएको छ।

प्रत्यक्ष र समानुपातिकमा बदर मत किन फरक हुन्छ?

निर्वाचनमा बदर मत प्रत्यक्ष र समानुपातिक मतपत्रमा फरक–फरक हुने देखिन्छ। प्रत्यक्षतर्फ मतपत्र अपेक्षाकृत सरल हुने भएकाले बदर दर सामान्यतया २–३ प्रतिशत आसपास रहने गरेको छ। तर समानुपातिक मतपत्रमा दलका चिन्ह धेरै हुने भएकाले मतदाताबाट गल्ती हुने सम्भावना बढ्छ। त्यसैले समानुपातिकतर्फ बदर दर प्रायः ५ प्रतिशत वा त्यो आसपास पुग्ने गरेको देखिन्छ।

थ्रेसहोल्ड कटाउन कति मत चाहिन्छ?

नेपालको निर्वाचन प्रणालीअनुसार कुनै दललाई राष्ट्रिय दलको मान्यता पाउन दुई सर्त पूरा गर्नुपर्छ। पहिलो, उसले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ। दोस्रो, समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत प्राप्त गर्नुपर्छ। यदि सदर मत करिब १ करोड ४ लाखको हाराहारी भयो भने ३ प्रतिशत बराबर करिब ३ लाख १० हजार मत हुन्छ। अर्थात् समानुपातिकतर्फ कम्तीमा यति मत प्राप्त गरेपछि मात्रै दल सिट बाँडफाँड प्रक्रियामा सहभागी हुन पाउँछ।

अहिलेको मतपरिणामले के संकेत गर्छ?

हालसम्मको मतगणनाको प्रवृत्ति हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ। प्रत्यक्षतर्फ करिब ११७ सिटमा अग्रता लिएको र अन्तिम परिणाममा कम्तीमा ११५ सिट सुरक्षित हुने आकलन गरिएको छ।

समानुपातिकतर्फ हालसम्म गणना भएको मतका आधारमा रास्वपाले करिब ५६ प्रतिशत मत प्राप्त गरेको देखिन्छ। कमजोर अवस्थामा पनि करिब ५० प्रतिशत मत कायम रहने अनुमान गरिएको छ। यदि सदर मत करिब १ करोड ४ लाख भयो र त्यसको ५० प्रतिशत मात्रै रास्वपाले पाए पनि उसले करिब ५२ लाख मत प्राप्त गर्नेछ।

समानुपातिक प्रणालीमा औसत रूपमा एक सिटका लागि करिब ८५ देखि ९० हजार मत आवश्यक पर्ने देखिन्छ। यस आधारमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ५५ देखि ६० सिट पाउन सक्ने अनुमान गरिएको छ।

यसरी समग्र गणना गर्दा अनुमानित परिणाम:

प्रत्यक्षबाट : करिब ११५ सिट

समानुपातिकबाट : करिब ६० सिट

कुल : करिब १७५ सिट

अरू दलले थ्रेसहोल्ड कटाउन सकेनन् भने के हुन्छ?

यदि रास्वपा बाहेक अन्य दलहरूले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् भने उनीहरूले समानुपातिकतर्फ पाएको मत सिट बाँडफाँडमा गणना हुँदैन। यस्तो अवस्थामा समानुपातिक सिट थ्रेसहोल्ड पार गर्ने दलहरूबीच मात्रै बाँडिने भएकाले ठूलो दललाई थप सिट प्राप्त हुने सम्भावना बढ्छ।

त्यसो भए अरू दलको राजनीतिक हैसियत के हुन्छ?

थ्रेसहोल्ड नकटाउँदैमा कुनै दल समाप्त भने हुँदैन। यदि कुनै दलले प्रत्यक्षतर्फ सिट जितेको छ भने उसका सांसद संसदमा रहनेछन्। तर त्यस्तो दलले संसदमा ‘राष्ट्रिय दल’को हैसियत भने पाउँदैन। यसको प्रभाव मुख्यतः संसदीय संरचनामा देखिन्छ, जस्तै संसदीय समितिमा प्रतिनिधित्व, दलको औपचारिक मान्यता तथा संसदीय सुविधा।

यद्यपि प्रदेशसभा र स्थानीय तहमा ती दलहरूले जितेका पद भने यथावत् रहनेछन्। त्यसैले प्रदेश र स्थानीय तहमा जनाधार भएका दलहरू त्यहाँको शासन संरचनामा कायम रहन सक्छन्।

दुई तिहाइ नजिकको गणित

नेपालको संविधान संशोधन गर्न प्रतिनिधिसभामा दुई तिहाइ अर्थात् १८४ सिट आवश्यक पर्छ। अहिलेको प्रवृत्ति कायम रहेमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुग्ने सम्भावना देखिएको विश्लेषकहरूको आकलन छ।

तर अन्तिम परिणाम भने समानुपातिक मतगणनाको अन्तिम नतिजा र थ्रेसहोल्ड पार गर्ने दलहरूको संख्याले निर्धारण गर्नेछ। त्यसैले अहिलेको बहस केवल चुनावी नतिजासँग मात्र नभई नेपालको आगामी संसदीय शक्ति सन्तुलन कस्तो बन्छ भन्ने प्रश्नसँग पनि जोडिएको छ।