कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा

५६ मिनेट अगाडि
कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन निर्माण भइरहेको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भएपछि असोज १ गतेदेखि नियमित रूपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको थियो। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन सञ्चालन गरिएको थियो। परीक्षण सफल भए पनि अहिले नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार निर्माण सुरु भएको ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।

‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,’ उनले भने।

निर्माणको प्रारम्भिक चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले निर्माण अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्।

हाल नयाँ ट्र्याकमा नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने काम भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने तथा त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम पनि भइरहेको छ।

करिब ३०० मिटर लामो नयाँ ट्र्याक मा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। नालीसहित संरचनाको कुल चौडाइ करिब साढे सात मिटर रहेको निर्माण पक्षले जनाएको छ। सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने बताइएको छ।

इञ्जिनियर नेपालले कृष्णभीरको उक्त खण्ड जोखिमपूर्ण रहेको भन्दै थप पहिरो नआए तोकिएको समयमै यातायात सञ्चालन गर्न सकिने बताए।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि अहिले फिनिसिङको काम भइरहेको छ।

उनले परीक्षणका लागि मात्र केही सवारीसाधन नयाँ ट्र्याकबाट पास गराइएको र हाल ट्र्याक पूर्णरूपमा बन्द रहेको स्पष्ट पारे।

‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिजो सवारीसाधन पास गराइएको हो,’ मिश्रले भने।

थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।