काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।
नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।
बैठकको निर्णयअनुसार असार-साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। त्यस्तै भदौ १५ गतेसम्म वडा, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।
तर अहिलेसम्म महाधिवेशनको कार्यतालिकाअनुसार काम हुन सकेको छैन।
नेकपा प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन हुने जानकारी दिएका छन्। त्यसका लागि तिजलगत्तै केन्द्रीय संयोजन समितिको बैठक बस्ने उनले बताए।
‘महाधिवेशन कार्यतालिका अनुसार पार्टी सदस्यता नवीकरण पनि हुन सकेको छैन। भोटेकोसी बाढीका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएको छ। यी सबैलाई ध्यानमा राखेर हामी छिट्टै केन्द्रीय संयोजन समिति बोलाउँछौँ,’ ज्वालाले भने।
केन्द्रले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि नहुँदा समस्या भएको तल्ला समितिको गुनासोप्रति पार्टीको ध्यान गएको उनले बताए।
‘अब बस्ने बैठकले अधिवेशन कार्यविधि पनि ठोस रूपमा बनाउँछौँ। मंसिरमै महाधिवेशन हुने गरी कार्यतालिका पनि आउँछ,’ उनले भने।
फागुनमा भएको निर्वाचनअघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत २५ घटकसँग पार्टी एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।