भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

२ दिन अगाडि
भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताएका छन् ।

भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वको धार्मिक तथा पौराणिक महत्त्वबारे चर्चा गरेका छन् । उनले भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् ।

पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए । त्यसक्रममा यमुनाले दाजु यमराजलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको विश्वास गरिन्छ ।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

यही धार्मिक विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन् । यस अवसरमा दाजुभाइलाई दुबो, मखमली र सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने तथा सप्तरङ्गी टीका लगाइदिने चलन छ 

त्यसैगरी विभिन्न मिष्ठान्न परिकार खुवाएर दाजुभाइको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्ने परम्परा पनि रहेको छ । दाजुभाइले समेत आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले भाइटीकाको सांस्कृतिक र पारिवारिक महत्त्वलाई स्मरण गराउँदै यस पर्वले आपसी सद्भाव, प्रेम र सम्बन्धमा विश्वास अझ बलियो बनाउने सन्देश दिएका छन् ।