जनकपुर । दीपावली सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको चारदिने छठ पर्वका लागि मिथिलाका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्व मनाउने तयारीमा स्थानीयवासी जुटेका छन् ।
आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा परिचित छठको तयारीसँगै मिथिलाका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
पर्वका लागि नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ । विशेषगरी युवाहरू छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने क्रम पनि जारी छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् ।
धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए ।
मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको मुख्य बिक्री शनिबार हुने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
छठ पूजाका सामग्री राख्न प्रयोग हुने बाँसका चोया र कप्टेराबाट बनाइएका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ । त्यस्तै, बत्ती बाल्ने दियो, दही जमाउने छ्याँची, पूजाका सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको माग बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको व्यापार बढेको हो ।
घरघरमा छठको प्रसाद बनाउने चटारो पनि सुरु भएको छ । ठकुवा र भुसुवासहितका परिकार तयार गर्न गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ ।
मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताइन् ।
मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पहिलो दिन नहाय–खाय विधिबाट पर्व सुरु हुन्छ । दोस्रो दिन खरना गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानताको सन्देश पनि हो । यस अवसरमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पूजा गर्ने चलनले सामाजिक एकता र सहअस्तित्वको सन्देश दिने गरेको छ ।
पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।