ढाका । न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकले थालेको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा ठूलो संख्यामा श्रमिक काममा नगएपछि उद्योगहरूको उत्पादन प्रभावित भएको छ ।
श्रमिकहरू कतिपय स्थानमा सडकमा उत्रिएर प्रदर्शनमा सहभागी भएका छन् । प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि औद्योगिक क्षेत्रमा तनाव बढेको छ । आन्दोलनका कारण १०० भन्दा बढी कपडा कारखाना बन्द गर्नुपरेको बताइएको छ ।
बंगलादेशको तयारी पोशाक उद्योगलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । करिब ३८ अर्ब अमेरिकी डलरको यस उद्योगले बंगलादेशको कुल निर्यात आम्दानीमा झन्डै ८० प्रतिशत योगदान पुर्याउँदै आएको छ । यस क्षेत्रमा ४० लाखभन्दा बढी श्रमिकले रोजगारी पाएका छन् ।
हाल बंगलादेशका कपडा उद्योगका श्रमिकले मासिक न्यूनतम १२ हजार ५०० टाका पारिश्रमिक पाउँदै आएका छन् । उनीहरूले उक्त रकम बढाएर ३० हजार टाका पुर्याउन माग गरेका छन् । बढ्दो महँगी र जीवनयापनको खर्चअनुसार पारिश्रमिक पर्याप्त नभएको भन्दै श्रमिकले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
यद्यपि, श्रमिकको माग सम्बोधन गर्ने विषयमा तलब बोर्डले नोभेम्बर ४ मै न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति जनाइसकेको छ । नयाँ पारिश्रमिक दर डिसेम्बरमा घोषणा गरी आगामी जनवरीदेखि कार्यान्वयन गर्ने तयारी छ । तर, पारिश्रमिक वृद्धिको प्रक्रिया र प्रस्तावित रकमप्रति असन्तुष्टि कायमै रहँदा आन्दोलन रोकिएको छैन ।
यसैबीच, बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले उद्योग क्षेत्रमा जारी अशान्तिप्रति चिन्ता व्यक्त गरेको छ । संगठनका अधिकारीहरूले निरन्तरको विरोध र उत्पादन अवरुद्ध हुँदा उद्योग, श्रमिक तथा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बताएका छन् ।
आन्दोलनका कारण उत्पादन प्रभावित भएपछि कारखाना सञ्चालकहरूले ‘काम छैन, तलब छैन’ नीति लागू गर्ने विषयमा समेत छलफल गरिरहेको बताइएको छ । यस्तो नीति लागू भएमा काममा सहभागी नभएका श्रमिकको पारिश्रमिक कटौती हुन सक्नेछ । यसले श्रमिक र उद्योग सञ्चालकबीचको विवाद थप चर्किने जोखिम बढाएको छ ।