काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। यसैक्रममा बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रेकर्ड भएको हो।
उनका अनुसार बिहान ८ः४५ बजेसम्म तापक्रम अझै घट्न सक्ने सम्भावना छ। चिसो मौसममा सूर्योदय हुँदासम्म न्यूनतम तापक्रम थप घट्न सक्ने भए पनि कहिलेकाहीँ उही तापक्रम कायम रहन सक्ने उनले बताए।
बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। यससँगै एक दिनको अवधिमा उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्रीले घटेको छ।
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। दिनभर मौसम मुख्यतः घमाइलो रहनेछ। यद्यपि, बीचबीचमा बादल देखिन सक्ने उनले जानकारी दिए।
यसअघि बुधबार भने काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहल क्षेत्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको थियो।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ।
पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्दै गएको छ। यससँगै चिसो पनि क्रमशः बढिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।
न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्थालाई जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउँछ।