ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर, मार्चमा सजाय सुनाइने

२ दिन अगाडि
ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर, मार्चमा सजाय सुनाइने

भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित अदालतले नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्टलाई फर्स्ट डिग्री मर्डरमा दोषी ठहर गरेको छ। शव लुकाएको र अपमान गरेको अभियोगमा समेत उनी दोषी पाइएका छन्।

करिब ६ सातासम्म चलेको सुनुवाइपछि मंगलबार भर्जिनियास्थित अदालतले नरेशलाई फर्स्ट डिग्री मर्डर (प्रथम श्रेणीको हत्या) मा दोषी ठहर गरेको हो। अदालतले ममताको शव लुकाएको तथा शवको अपमान गरेको अभियोगमा समेत उनलाई दोषी पाएको छ।

सुनुवाइका क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले उनको शव व्यवस्थापन मात्रै गरेको दाबी गरेका थिए। तर अन्तिम बहसका क्रममा सरकारी वकिलले उनको दाबीलाई अस्वीकार गर्दै जुरीसमक्ष उनीविरुद्धका प्रमाण प्रस्तुत गरेका थिए।

वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले अन्तिम बहसका क्रममा नरेशले ममताको हत्या गरी शरीर टुक्राटुक्रा पारेको र फोहोरमा फालेको आरोप लगाइन्।

उनका अनुसार ममताको शव भर्जिनियाको लुरायस्थित ल्यान्डफिलमा फालिएको थियो। शव अहिलेसम्म फेला नपरेकाले ममताको परिवारले अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था रहेको सरकारी वकिलले अदालतमा उल्लेख गरिन्।

प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। त्यस्तै, शव लुकाएको र अपवित्र पारेको कसुरमा प्रत्येक अभियोगमा पाँच वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। उनलाई हुने अन्तिम सजाय आगामी मार्च महिनामा सुनाइनेछ।

नरेश दोषी ठहर भएको फैसला सार्वजनिक भएसँगै ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायका सदस्यहरू अदालतबाहिर भेला भएका थिए।

के थियो ममता काफ्ले बेपत्ता प्रकरण?

ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि उनका सहकर्मीहरूले खोजी र चासो सुरु गरेका थिए।

त्यसपछि प्रहरीले ममता र नरेश बस्दै आएको घरमा पुगेर अनुसन्धान थालेको थियो। सुरुमा नरेशले ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए।

उनले प्रहरीलाई ममता घर छाडेर जान चाहेको तथा सम्बन्धविच्छेदको कुरा गरेको दाबीसमेत गरेका थिए। नरेशले अगस्ट ५ मा मात्रै ममता हराएको औपचारिक उजुरी दिएका थिए।

तर ममताको परिवार र साथीहरूले सानी छोरीलाई घरमै छाडेर कसैलाई जानकारी नदिई उनी बाहिरिएको हुन नसक्ने भन्दै शंका व्यक्त गरेका थिए।

अनुसन्धानपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो।

अहिलेसम्म ममताको शव फेला परेको छैन। अदालतबाट नरेश दोषी ठहर भए पनि परिवारले उनको शव प्राप्त गर्न र अन्तिम संस्कार गर्न पाउने अवस्था अझै बनेको छैन।