मकवानपुरकाे भिमफेदीमा यात्रुवाहक गाडी दुर्घटना

एक दिन अगाडि
मकवानपुरकाे भिमफेदीमा यात्रुवाहक गाडी दुर्घटना

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा यात्रुवाहक ईभी गाडी दुर्घटनामा परेको छ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनालगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली खटिएको छ।

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकाहरूको अवस्था र मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले जानकारी दिए।