काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेका निर्णय नमान्ने बताएको छ।
सोमबार चुनदेवीमा बसेको देउवा समूहको बैठकले पुसमा भएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसबाट आएको कार्यसम्पादन समितिका निर्णय नमान्ने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए।
बैठकले मंसिरमा महाधिवेशन गर्न असोज १५ गतेदेखि अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन तथा पूर्णता दिने निर्णयसमेत गरिएको छ।
समूहले सर्वोच्च अदालतको पुनरवलोकनसम्बन्धी निर्णय नआएसम्म पर्खेर गतिविधि अघि बढाउने जनाएको छ। नेता शशांक कोइरालाले असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने बताएका छन्। उनले असोज ३ गतेको वडा अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।