काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै उनले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनामा प्रयोग गर्ने तयारी भइरहेको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय गरेर उद्धार तथा व्यवस्थापनको काम भएको बताए। प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले काम गरिरहेको उनको भनाइ छ।
नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्नसक्ने भएकाले त्यहाँ पुनः बस्ती बसाउन सम्भव नहुने उनले बताए। सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको भन्दै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने बताए।