हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गर्दै मनाइँदै

१६ घण्टा अगाडि
हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गर्दै मनाइँदै

काठमाडौं । हिन्दु नेपाली महिलाको प्रमुख पर्व हरितालिका तिज आज भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिव र पार्वतीको पूजा आराधना गर्दै मनाइँदैछ।

धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने विश्वास छ।

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाएकी थिइन्।

पार्वतीको समस्या बुझेपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले सोही दिनदेखि हरितालिका तिजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

संस्कृतका ‘हरित’ र ‘आलिका’ दुई शब्दबाट ‘हरितालिका’ शब्द बनेको हो। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।

तिजमा निराहार, जलाहार र फलाहार गरी तीन प्रकारका व्रत बस्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। स्वास्थ्यले साथ दिनेले निराहार व्रत बस्ने, नसक्नेले जलाहार तथा जलाहारसमेत गर्न नसक्नेले फलाहार व्रत बस्नु उपयुक्त मानिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार तिजमा सबै महिलाले अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन। आफ्नो स्वास्थ्य अवस्था र क्षमताअनुसार व्रत बस्न सकिने धार्मिक मान्यता छ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गर्दै व्रत बस्ने परम्परा रहे पनि विभिन्न कारणले महिला व्रत बस्न नसक्ने अवस्थामा पुरुषले समेत व्रत बस्ने गरेको पाइन्छ।

समग्रमा मनोकामना पूरा गर्ने तथा परिवारको सुख, शान्ति र कल्याणका लागि तिजको व्रत लिने धार्मिक विश्वास छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेको धर्मशास्त्रविद्हरूको भनाइ छ।

धर्मशास्त्रीय मान्यताअनुसार व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच प्रकारका हुन्छन्। तिजको व्रत नित्य र काम्य दुवै प्रकृतिको मानिन्छ।

धार्मिक ग्रन्थहरूमा तिजको व्रत हिन्दु महिलाका लागि मात्र नभई मानव मात्रका लागि रहेको उल्लेख गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्। परिवारको सुख, शान्ति तथा पारलौकिक सद्गतिका लागि तिज व्रतको विशेष महत्त्व रहेको धार्मिक विश्वास छ।