एमालेका दुई प्रतिवेदन मिलाएर एउटै बनाउन तीन नेतालाई जिम्मा

३ घण्टा अगाडि
एमालेका दुई प्रतिवेदन मिलाएर एउटै बनाउन तीन नेतालाई जिम्मा

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदनमा सहमति जुट्न नसकेपछि तिनलाई मिलाएर एउटै प्रतिवेदन बनाउन तीन नेतालाई जिम्मा दिइएको छ।

काभ्रेको बल्थलीमा दुई दिन बसेको आवासीय बैठकमा सहमतिको प्रयास भए पनि दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले सचिव लेखराज भट्टले बताए।

कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख थियो। त्यसमा ओलीको चित्त नबुझेपछि कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’लाई अर्को प्रतिवेदन लेख्न लगाइएको थियो।

बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउन बादल, विष्णुप्रसाद पौडेल र पोखरेललाई जिम्मा दिएको छ। तीनै नेतालाई दुई दिनको समय दिइएको छ। त्यसपछि कार्यदलले प्रतिवेदन पारित गरेर एमाले केन्द्रीय सचिवालयलाई बुझाउने भट्टले बताए।