मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षतिबारे संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आवाज उठाउने बताएका छन्।
मुस्ताङको जोमसोममा मंगलबारदेखि सुरु भएको "घरपझोङ जलवायु सम्मेलन २०८३" का लागि प्रधानमन्त्री शाहले शुभकामना सन्देश पठाउँदै यस्तो बताएका हुन्। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्रीको सन्देश पढेर सुनाएका थिए।
प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिमपहिरो, हिमताल फुट्ने, हिमनदीको प्रवाह बढ्ने, पानीका मुहान सुक्ने तथा मौसममा अस्वाभाविक परिवर्तन हुने समस्या बढ्दै गएको बताएका छन्।
जलवायु परिवर्तनको असर स्थानीय जनजीवन, कृषि र जैविक विविधतामा समेत पर्न थालेको भन्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्।
जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै शाहले नेपालले भोगेको जलवायु क्षतिका विषयमा संयुक्त राष्ट्रसंघको महासभामा स्पष्ट रूपमा आवाज उठाउने बताएका छन्।