कांग्रेसभित्र विवाद चर्कियो: समानुपातिक चयनमा नियम मिचिएको पूर्णबहादुर खड्काको आरोप

२ हप्ता अगाडि
कांग्रेसभित्र विवाद चर्कियो: समानुपातिक चयनमा नियम मिचिएको पूर्णबहादुर खड्काको आरोप

काठमाडौं । पूर्णबहादुर खड्काले नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको संकेत गरेका छन्। उनले पार्टीको संस्थापन समूहले समानुपातिक सांसद चयनमा नियमविपरीत काम गरेको आरोप लगाएका हुन्।

काठमाडौंको धुम्बाराहीस्थित एक भेलामा आफ्ना समूहका नेताहरूलाई सम्बोधन गर्दै खड्काले पिछडिएको क्षेत्रबाट एक नम्बरमा रहेको विद्या तिमिल्सिनाको नाम हटाएर सूचीमै नरहेको व्यक्ति राखिएको दाबी गरे। उनका अनुसार पुरुष खस आर्य कोटामा सातौं नम्बरमा रहेका कालीबहादुर सहकारी लाई अघि सारिएको छ।

खड्काले उक्त निर्णयविरुद्ध असन्तुष्ट पक्ष अदालतसम्म पुगेको जानकारी दिए। दलित कोटाबाट सिफारिस भएका मानबहादुर नेपाली समेत कानुनी उपचारको बाटो रोजेको उनले बताए।

यसअघि विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्र शक्ति संघर्ष बढ्दै गएको छ। यतिबेला शेरबहादुर देउवा र शेखर कोइराला समूह एकजुट भएर विशेष समूहको विरोधमा उभिएका छन्। उता पार्टी प्रवक्ता देवराज चालिसेले अनुशासन उल्लंघन नगर्न चेतावनी दिएका छन्।