काठमाडौँ । चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ।
छनोटअन्तर्गतको निर्णायक खेलमा बोस्निया–हर्जेगोभिना राष्ट्रिय फुटबल टोली सँग पेनाल्टी प्रहारमा पराजित भएपछि इटालीको यात्रा टुंगिएको हो।
यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा पुग्न सकेको थिएन।
खेलमा पिओ एस्पोसिटोको प्रहार बाहिरिँदा ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० खेलाडीमा सीमित हुँदासमेत खेललाई पेनाल्टीसम्म पुर्याउन सफल भयो। इटालीले १५औँ मिनेटमा मोइज केनको गोलबाट अग्रता लिएको थियो।
तर पहिलो हाफको अन्त्यतिर अलेसान्द्रो बास्टोनी रातो कार्ड पाएपछि इटाली दबाबमा परेको थियो। त्यसपछि बोस्नियाले आक्रमण तीव्र बनायो।
७९औँ मिनेटमा कप्तान एडिन जेकोको प्रहार गोलरक्षक जानलुइजी डोनारुम्माले रोके पनि रिबाउन्डमा हारिस तबाकोभिचले गोल गर्दै खेल बराबरीमा ल्याए।
निर्णायक पेनाल्टीमा बोस्नियाका सबै खेलाडी सफल हुँदा इटालीका दुई प्रहार असफल भएपछि टोली बाहिरियो।
यो जितसँगै बोस्निया–हर्जेगोभिनाले आफ्नो इतिहासमा दोस्रो पटक मात्र विश्वकपमा स्थान बनाएको छ।