तनहुँको कमलबारीमा माइक्रोबस दुर्घटना: ९ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर

२ हप्ता अगाडि
तनहुँको कमलबारीमा माइक्रोबस दुर्घटना: ९ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौँबाट दमौलीतर्फ जाँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्। मंगलबार साँझ पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारी क्षेत्रमा बा.प्र.०१–००६ ख ७२०८ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सवारी आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल उद्धार गरी रत्नहरी अस्पताल दमौली र प्रदेश अस्पताल दमौलीमा उपचारका लागि लगिएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको विवरण:
अन्जु क्षेत्री (३६), गलकोट नगरपालिका-१, बाग्लुङ 
रिकेश भण्डारी (२८), तिलोत्तमा नगरपालिका-४, बुटवल 
स्मारिका थापा (२५), व्यास-१ भादगाउँ 
अर्पन थापा (करिब २ वर्ष), व्यास–१ भादगाउँ 
अमृता कार्की (३५), व्यास-९ झिमुवा
निश्चल कार्की (११), झिमुवा
कुशल कार्की (११), झिमुवा
उदिप गुरुङ (२५), सहचालक, हरिनास गाउँपालिका–२, स्याङ्जा 
चमेली सिटौला पाण्डे (३५), त्रिपुरासुन्दरी गाउँपालिका–३, धादिङ 

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।