सर्तसहित युद्ध अन्त्यका लागि इरान तयार: ग्यारेन्टी बिना सम्झौता नहुने चेतावनी

२ हप्ता अगाडि
सर्तसहित युद्ध अन्त्यका लागि इरान तयार: ग्यारेन्टी बिना सम्झौता नहुने चेतावनी

इरानले केही महत्वपूर्ण सर्तहरू पूरा भएमा मात्रै संयुक्त राज्य अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तयार रहेको संकेत दिएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियान ले युरोपेली परिषद्का अध्यक्षसँगको टेलिफोन संवादमा यस्तो धारणा व्यक्त गरेका हुन्।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार पेजेस्कियानले युद्ध अन्त्य गर्ने इच्छासँगै स्पष्ट सर्तहरू पनि अघि सारेका छन्। उनका अनुसार भविष्यमा फेरि द्वन्द्व नदोहोर्ने ठोस ग्यारेन्टी बिना कुनै पनि शान्ति सम्झौता सम्भव छैन।

यसअघि पनि इरानले अमेरिकाबाट आएको १५-बुँदे शान्ति प्रस्तावप्रति प्रतिक्रिया दिँदै आक्रमण पुनः नहुने सुनिश्चितता मागेको थियो। इरानको भनाइमा दीर्घकालीन शान्तिका लागि विश्वसनीय प्रतिबद्धता अपरिहार्य छ।

यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि छिट्टै युद्धबाट बाहिरिने संकेत दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका  अनुसार ट्रम्पले “दुई वा तीन हप्ताभित्र” अमेरिका इरानविरुद्धको सैन्य संलग्नताबाट बाहिरिन सक्ने बताएका छन्।

ट्रम्पका अनुसार अमेरिकाको प्रमुख लक्ष्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु थियो, जुन लक्ष्य हासिल भइसकेको दाबी उनले गरेका छन्। उनले भनेका छन् कि अमेरिकाले इरानमा आफ्नो सैन्य अभियान अन्तिम चरणमा पुर्‍याइरहेको छ र छिट्टै फिर्ता हुने तयारीमा छ।

साथै, उनले आवश्यक परे इरानका संरचनाहरू पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दिँदै यसअघि नै सम्झौताको सम्भावना पनि रहेको उल्लेख गरेका छन्। अमेरिकामा बढ्दो ग्यास मूल्यबारे प्रश्न उठ्दा उनले युद्धबाट बाहिरिनु नै त्यसको समाधानमध्ये एक भएको बताएका छन्।

गत फेब्रुअरी २८ देखि सुरु भएको इरान-अमेरिका-इजरायलबीचको द्वन्द्व अझै जारी छ। अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गरेपछि सुरु भएको तनावले मध्यपूर्व क्षेत्रलाई दीर्घकालीन अस्थिरतामा धकेलेको छ। जवाफमा इरानले इजरायलसहित खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा पनि आक्रमण गरेको थियो।

यस द्वन्द्वमा अहिलेसम्म ४ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको अनुमान छ।

इरानमा मात्र करिब ३,४९२ जनाको मृत्यु भएको बताइएको छ, जसमा १,५७४ सर्वसाधारण र कम्तीमा २३६ बालबालिका छन्।
इजरायलमा मिसाइल आक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने लेबननमा ९ इजरायली सैनिक मारिएका छन्।