‘अदालत सेटिङ’को बहानामा ९ लाख ठगी: दम्पती पक्राउ

२ हप्ता अगाडि
‘अदालत सेटिङ’को बहानामा ९ लाख ठगी: दम्पती पक्राउ

काठमाडौँ । काठमाडौँमा अदालतमार्फत मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने एक दम्पती पक्राउ परेका छन्। पुर्पक्षका लागि कारागारमा रहेका बन्दीलाई छुटाइदिने प्रलोभन देखाउँदै उनीहरूले आर्थिक लाभ लिएको आरोप लागेको छ।

प्रहरीका अनुसार मण्डिखाटारस्थित हलेसी महादेव मार्ग क्षेत्रमा बस्दै आएका ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी ३७ वर्षीया श्रीमती मिठु मगर लाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा हरिबहादुरले सर्वोच्च अदालतमा आफ्नो चिनजानका न्यायाधीशमार्फत भनसुन गरेर मुद्दामा संलग्न व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। त्यसका लागि उनले धरौटी रकम र वकिलको बहस खर्चको नाममा पीडितहरूसँग रकम मागेका थिए।

उनकै निर्देशनमा पीडितहरूले मिठु मगरको बैंक खातामा कुल ९ लाख रुपैयाँ जम्मा गरेका थिए। तर रकम लिएपछि वाचा अनुसारको काम नभएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले उजुरीपछि दुवै जनालाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।