सुनको मूल्यमा उछाल: तोलामा ७४०० वृद्धि, चाँदी पनि महँगियो

२ हप्ता अगाडि
सुनको मूल्यमा उछाल: तोलामा ७४०० वृद्धि, चाँदी पनि महँगियो

काठमाडौँ । सुनचाँदीको मूल्य लगातार उकालो लाग्ने क्रम जारी रहेको छ। आज सुनको भाउ एकै दिनमा तोलामा ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी पनि १०० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ८४५ रुपैयाँ थियो। सोमबार सुन २ लाख ८३ हजार ५०० र चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आइतबार सुन २ लाख ८६ हजार र चाँदी ४ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७०५ अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य, मुद्रा विनिमय दरको उतारचढाव तथा मागमा आएको वृद्धिका कारण नेपाली बजारमा समेत सुनचाँदीको मूल्य बढिरहेको हो।