काठमाडौँ । बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेप्से परिसूचक ७४.७३ अंकले घट्दै २७७६ अंकमा झरेको हो। बजार खुलेदेखि नै लगातार दबाबमा रहेको सूचक दिनभर राताम्मे रह्यो। यसअघि दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार सामान्य सुधार देखिए पनि बुधबार पुनः तीव्र गिरावटतर्फ फर्किएको हो।
गिरावटका बीच कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन करिब १ अर्ब रुपैयाँले बढी हो। बजारमा जम्मा १३ कम्पनीको शेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ, जसले समग्र बजारमा नकारात्मक मनोविज्ञान देखाएको छ।
समूहगत रूपमा सबै सूचकहरू ओरालो लागेका छन्। “अन्य” समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ। नेपाल पुनर्बीमाको शेयर मूल्य ९.८४ प्रतिशतले घटेपछि उक्त समूहमा बढी प्रभाव परेको देखिन्छ। त्यसबाहेक बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, जलविद्युत २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
यद्यपि केही नयाँ सूचीकृत कम्पनीहरूमा उत्साहजनक वृद्धि देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन लगायत ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
अर्कोतर्फ, सप्तकोशी विकास बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले उच्च गिरावट बेहोरेका छन्।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट तथा नेपाल पुनर्बीमा कम्पनी परेका छन्। समग्रमा बजारमा गिरावट गहिरिए पनि लगानीकर्ताको सक्रियता भने घटेको छैन भन्ने संकेत कारोबार रकमले दिएको छ।