काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्का लाई अनुशासन उल्लंघनको आरोपमा सचेत गराएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको अनुशासन समितिको बैठकले अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै उनलाई चेतावनी दिने निर्णय गरेको हो।
खड्काले चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए, जुन पार्टीको आधिकारिक निर्णयविपरीत रहेको ठहर गरिएको छ। समितिका संयोजक तारामान गुरुङले अब यस्ता गतिविधि दोहोरिए पार्टी विधानअनुसार कडा कारबाही गरिने बताएका छन्।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित ५०७ वटा उजुरी अनुशासन समितिमा दर्ता भएका छन्। ती उजुरीहरूमा पार्टीका उम्मेदवारविरुद्ध गतिविधि गरेको, विपक्षीलाई सहयोग गरेको तथा निष्क्रिय बसेको आरोप समेटिएको छ।
उजुरीमा परेका व्यक्तिहरूलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको र त्यसपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।