विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले मोरङको केराबारीमा एम्बुलेन्स प्रयोग गरी लागु औषध गाँजा तस्करी गरेको फेला पारेको छ ।
प्रहरीले पुस १३ गते राति केराबारी वडा नम्बर ५ मा चेकजाँच गर्दा गाँजा तस्करी भएको फेला पारेको हो । तस्करीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो।
सोही क्रममा प्र१-०६-००१ झ ०००४ नम्बरको सरकारी एम्बुलेन्सलाई शंका लागेर रोक्न खोज्दा त्यहाँ रहेका व्यक्तिहरू एम्बुलेन्स छाडेर भाग्न खोजे पछि प्रहरीले हवाई फायर गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले एम्बुलेन्सको खानतलासी गर्दा भित्र लुकाई राखिएका १६ वटा ठुला पोका फेला पारेको छ। उक्त पोकाहरू जोख्दा कुल ५२१ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको शहिदभुमी गाउँपालिका–६का निश्चल राई र सागुरिगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बु रहेको प्रहरीले जनाएको छ।