सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बिचौलियाको गतिविधि नियन्त्रण गर्न प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान साढे ११ बजेतिर यातायात व्यवस्था कार्यालय सुर्खेत र मालपोत कार्यालय सुर्खेत आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
डीएसपी मोहनजंग बुढथापाका अनुसार सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने तथा जग्गा नामसारी लगायतका सेवा मिलाइदिने भन्दै रकम असुली गर्दै बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालय क्षेत्रबाट ६ जना पुरुष र मालपोत कार्यालय क्षेत्रबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। पछिल्लो समय सार्वजनिक सेवा लिन आउने सर्वसाधारणलाई झुक्याएर गैरकानुनी रूपमा रकम असुल्ने बिचौलियाको गतिविधि बढेपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।