काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादल ले भदौ २४ गते देशका महत्वपूर्ण सरकारी संरचनामा भएको विध्वंसको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सिंहदरबार, राष्ट्रपति निवास र संसद भवनमा भएको आगजनी तथा तोडफोडको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने बताएका हुन्। “सिंहदरबार किन जलाइयो? संसद भवन किन ध्वस्त पारियो? यसको उद्देश्य के थियो?” भन्दै उनले गम्भीर प्रश्न उठाए।
उनले पछिल्लो समय देशभर दमनचक्र चलाइएको आरोप समेत लगाए। राजनीतिक असन्तुष्टि दबाउन राज्य संयन्त्र प्रयोग गरिएको संकेत गर्दै उनले यसबारे यथार्थ बाहिर ल्याउन सरकारलाई आग्रह गरे।
त्यस्तै, उनले केही अदृश्य शक्ति, प्रविधि र सञ्चार माध्यमको प्रभावमा राजनीतिक परिणाम आएको दाबी गरे। “अदृश्य शक्तिहरू, विभिन्न माध्यम र प्रभावले अस्वाभाविक परिणाम ल्याइएको छ,” भन्दै उनले यस विषयमा पनि गहिरो अनुसन्धान गर्नुपर्ने धारणा राखे।
देशमा दीर्घकालीन शान्ति, स्थायित्व र लोकतान्त्रिक मूल्य कायम गर्न सत्यतथ्य सार्वजनिक हुनु अपरिहार्य रहेको उनको भनाइ थियो। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म जनविश्वास स्थापित हुन नसक्ने उनले चेतावनी दिए।