जेनजी घटनामा छानबिनको माग, दोषी नछुट्ने–निर्दोष नफस्ने सुनिश्चित गर्न शाहीको आग्रह

२ हप्ता अगाडि
जेनजी घटनामा छानबिनको माग, दोषी नछुट्ने–निर्दोष नफस्ने सुनिश्चित गर्न शाहीको आग्रह

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले जेनजी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारको कार्यशैली र निर्णयका कारण अहिलेको जटिल परिस्थिति सिर्जना भएको टिप्पणी गरे। उनले वर्तमान सरकारलाई विगतका कमजोरी दोहोर्याउन नहुने चेतावनी दिँदै विधिको शासनमा अडिग रहन आग्रह गरे।

शाहीले जनताबाट ठूलो अपेक्षासहित आएको वर्तमान सरकारले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताए। “जनताको भरोसा जोगाउने जिम्मेवारी सरकारकै हो,” उनले भने।

उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचारका सबै फाइल खोलिने विश्वास व्यक्त गरे। यस क्रममा उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ प्रति आशा व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र न्यायिक प्रक्रिया मजबुत हुने अपेक्षा राखे।

उनले दोषी जोसुकै भए पनि उम्कन नपाउने र निर्दोषलाई अन्याय नहुने सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए। जेनजी घटनाले देशको राजनीतिक र सामाजिक अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै यसको निष्पक्ष छानबिन अपरिहार्य रहेको उनको भनाइ थियो।