एमसीसी खारेजको मागसँगै सांसद सम्पत्ति छानबिन गर : हर्कराज राई

२ हप्ता अगाडि
एमसीसी खारेजको मागसँगै सांसद सम्पत्ति छानबिन गर : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त परियोजनाले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र सम्भावित सैन्य रणनीतिमा असर पार्न सक्ने भन्दै पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

उनले एमसीसीजस्तो अन्तर्राष्ट्रिय परियोजना स्वीकार गर्दा राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै यस्ता सम्झौताले दीर्घकालीन असर पार्ने भएकाले सावधानी अपनाउनुपर्ने धारणा राखे। “देशको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा असर पर्ने कुनै पनि सम्झौता स्वीकार्य हुन सक्दैन,” उनले स्पष्ट पारे।

राईले सीमावर्ती क्षेत्रमा सरकारको उपस्थिति कमजोर रहेको उल्लेख गर्दै त्यहाँ निगरानी प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न राज्य संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताए।

त्यस्तै, उनले संसदभित्र पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याउँदै सबै सांसदको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे। जनप्रतिनिधिहरूको आचरण र आर्थिक पारदर्शिता स्पष्ट नभएसम्म जनविश्वास मजबुत नहुने उनको भनाइ थियो।

शिक्षा क्षेत्रतर्फ संकेत गर्दै उनले हालको शिक्षा प्रणाली व्यवहारमुखी नभएको टिप्पणी गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उपयोग गर्नुपर्ने उनको सुझाव थियो। जीवनोपयोगी शिक्षा लागू गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

साथै, उनले संसद बैठक समयमै सुरु नहुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै समयपालनमा कडाइ गर्नुपर्ने बताए। जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै उनले संसद सञ्चालनमा अनुशासन र प्रभावकारिता आवश्यक रहेको धारणा राखे।