काठमाडौँ । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुन ले ०६४ सालको संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको जनमतको सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपा माओवादीले ठूलो जनसमर्थन प्राप्त गरे पनि त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको बताएका हुन्। “०६४ सालको चुनावमा हामीले ठूलो विजय हासिल गरेका थियौँ, तर त्यसलाई सही ढंगले उपयोग गर्न सकेनौँ,” उनले भने।
उनले ०७४ सालमा दुई ठूला दलबीचको सहकार्य र त्यसपछि भएको पार्टी एकताको प्रसंग पनि उल्लेख गर्दै ती अवसरहरू पनि अपेक्षाअनुसार परिणाममुखी बनाउन नसकिएको स्वीकार गरे। “हामीले एकता गर्यौँ, तर त्यसको परिणाम जनताको अपेक्षाअनुसार दिन सकेनौँ,” उनले थपे।
पुनले वर्तमान राजनीतिक अवस्थालाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै नयाँ शक्ति र जनमतबाट पाठ सिक्नुपर्ने बताए। उनले विशेषगरी नयाँ उदाएको राजनीतिक शक्तिलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै त्यसबाट शिक्षा लिएर देश र पार्टीलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले सहकार्य, सुधार र जिम्मेवार राजनीतिमार्फत मात्रै जनताको विश्वास पुनः जित्न सकिने उल्लेख गर्दै आफ्नो पार्टी त्यसका लागि तयार रहेको बताए।